
सामाजिक सञ्जाल एउटा अद्भुत साधन हो यदि त्यसको प्रयोग विवेक, जिम्मेवारी र सद्भावसहित गरियो भने । यदि यसलाई रिस पोख्ने, आक्रोश फैलाउने र अपमानजनक अभिव्यक्तिको थलो बनाइयो भने, यसले समाजमा अराजकता, द्वन्द्व र अविश्वास बढाउनेछ ।
२१औँ शताब्दी सूचना र प्रविधिको क्रान्तिको युग हो, जसको केन्द्रमा सामाजिक सञ्जाल (सोसल मिडिया) उभिएको छ । मानव समाजको सञ्चार, सूचना प्रवाह, अभिव्यक्ति, जागरूकता र नेटवर्किङको स्वरूपलाई आमूल परिवर्तन गराउने यस प्रविधिले संसारलाई एक ‘डिजिटल गाउँ’मा रूपान्तरण गरिदिएको छ । सामाजिक सञ्जालले व्यक्तिहरूलाई आफ्नो विचार, भाव, अनुभव र प्रतिक्रियाहरू सुलभ ढङ्गले प्रस्तुत गर्ने स्वतन्त्र प्लेटफर्म उपलब्ध गराएको छ । यही कारणले यसलाई ‘अभिव्यक्तिको लोकतन्त्र’को संज्ञा समेत दिइन्छ ।
तर, यही अवसरको खुलापन आज जोखिममा बदलिँदो छ । सामाजिक सञ्जालको दुरुपयोगले सामाजिक सद्भाव, सम्मानजनक संवाद र विचार-विमर्शको संस्कृतिलाई चुनौती दिँदै छ । गालीगलौज, ट्रोलिङ, व्यक्तिगत आक्रमण, गलत सूचना (misinformation) र नक्कली समाचार (fake news) जस्ता विकृतिहरूको माध्यम बन्दै गएको छ यो माध्यम । विशेषगरी मानिसहरू आफ्ना रीस, निराशा वा आक्रोश पोख्ने ‘डिजिटल खाल्डो’को रूपमा यसको प्रयोग गर्न थालेका छन् । फलतः यसले समाजमा ध्रुवीकरण, सामाजिक तनाव र संवेदनशील सम्बन्धहरूको विघटन उत्पन्न गराएको छ । आज प्रश्न उठिरहेको छ के सामाजिक सञ्जाल अभिव्यक्तिको स्वतन्त्रताको सार्थक उपकरण हो, वा समाजमा अराजकता फैलाउने डिजिटल अस्त्र बनिरहेको छ ?
१. अभिव्यक्तिको अवसर र लोकतान्त्रिक प्रयोग
अभिव्यक्तिको स्वतन्त्रता लोकतान्त्रिक मुलुकमा नागरिकको एक आधारभूत अधिकार हो । यो स्वतन्त्रताले व्यक्ति वा समूहलाई आफ्ना विचार, भावना, चिन्ता र असन्तुष्टिहरू खुला वा सार्वजनिक रूपमा राख्ने अधिकार प्रदान गर्छ । नेपालको संविधान २०७२ को अनुच्छेद १७ अन्तर्गत बोल्ने, लेख्ने, छाप्ने, प्रकाशन गर्ने, सम्प्रेषण गर्ने र सूचना प्रवाह गर्ने अधिकारलाई अभिव्यक्तिको स्वतन्त्रताअन्तर्गत सुनिश्चित गरिएको छ । तर प्रत्येक स्वतन्त्रतासँग उत्तरदायित्व र मर्यादाको सीमा पनि रहन्छ । जब कुनै अभिव्यक्ति अरुको आत्मसम्मान, प्रतिष्ठा, जातीय, धार्मिक वा लैङ्गिक पहिचानमाथि प्रहार गर्छ, त्यसबेला त्यो अभिव्यक्ति स्वतन्त्रताको हकभन्दा बाहिर जान्छ । कुनै व्यक्तिले आफ्ना असन्तुष्टि, दोष वा विचार राख्दा यदि अपशब्द, घृणा, धम्की वा व्यक्तिगत चरित्रहत्या प्रयोग गर्छ भने त्यो स्वतन्त्रता होइन, सामाजिक विकृति हो ।
सामाजिक सञ्जालको वृद्धिसँगै अहिले ‘म मेरो विचार राख्दैछु’ भन्ने नाममा मानिसहरूले गालीगलौज, अपमानजनक भाषा र व्यक्तिगत आक्रमण गर्न थालेका छन् । यो प्रवृत्ति विशेषगरी सार्वजनिक व्यक्तित्व, पत्रकार, राजनीतिकर्मी वा सामाजिक कार्यकर्ताहरूलाई लक्षित गरेर देखिन्छ । कतिपय अवस्थामा यस्ता टिप्पणीहरू जातीय घृणा, लैङ्गिक हिंसा, धार्मिक असहिष्णुता फैलाउने खालका हुन्छन् । यस्तो अभिव्यक्ति व्यक्तिगत स्वतन्त्रता भन्दापनि सामाजिक अशान्ति बढाउने माध्यम बन्न सक्छ ।
सामाजिक सञ्जालमा अनामिक रूपमा वा नक्कली पहिचान प्रयोग गरेर गाली गर्ने, रिस पोख्ने वा कुण्ठा व्यक्त गर्नेहरूले आफ्नो कार्यलाई ‘अभिव्यक्ति स्वतन्त्रता’को आवरणमा राख्न खोज्छन् । तर, अभिव्यक्ति स्वतन्त्रता कुनै व्यक्तिलाई अपमान गर्ने छुट होइन, बरु यो स्वतन्त्रता सम्वेदनशीलता, विवेक र उत्तरदायित्वसहित प्रयोग गर्नु पर्ने अधिकार हो ।
संविधानले दिएको स्वतन्त्रताको अधिकार व्यक्तिगत स्वतन्त्रता मात्रै होइन, यो समाजप्रतिको उत्तरदायित्व पनि हो । व्यक्तिको विचार व्यक्त गर्ने अधिकारजस्तै, अर्को ब्यक्तिको इज्जत, प्रतिष्ठा र सुरक्षाको अधिकार पनि सुनिश्चित गरिएको हुन्छ । त्यसैले एउटा व्यक्तिको स्वतन्त्रता तबसम्म स्वतन्त्र हुन्छ, जबसम्म त्यो स्वतन्त्रता अर्कोको स्वतन्त्रतालाई हानी पुऱ्याउँदैन । सामाजिक सञ्जालमा जब व्यक्तिहरू असहिष्णु र कठोर भाषा प्रयोग गर्छन्, त्यसले सामाजिक समावेशिता, सहिष्णुता र सहकार्य जस्ता मूल्यहरूलाई कमजोर बनाउँछ । यसकारण, डिजिटल युगमा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग संवेदनशीलता, सत्यता र जिम्मेवारीका साथ हुन आवश्यक छ ।
२. अवसरको छायाँमा जोखिमको विस्तार
सामाजिक सञ्जाल अहिले ‘डिजिटल डायरी’ मात्रै नभई, ‘डिजिटल भेन्टिलेसन’को माध्यम बन्दै गएको छ । मानिसहरूले आफ्नो व्यक्तिगत निराशा, असन्तोष, अपमान, वा भोगेका अन्यायहरू सञ्जालमा पोख्न थालेका छन् । कहिलेकाहीँ प्रत्यक्ष रूपमा व्यक्त गर्न नसकेको भावना-आक्रोश, क्रोध, वा कुण्ठा-सामाजिक सञ्जालमार्फत अभिव्यक्त हुन्छ । सामान्यतया यस्तो क्रोधको शिकार हुन्छन्, राजनीतिक दल, सार्वजनिक व्यक्तित्व, मिडिया वा समाजमा कुनै निश्चित वर्ग । किनभने, सञ्जालमा प्रत्यक्ष जवाफदेही हुनुपर्दैन, व्यक्तिहरू सहज रूपमा रीस पोख्न बाध्य हुँदैनन् ।
धेरै मानिसहरू व्यक्तिगत, आर्थिक वा पारिवारिक समस्याहरूले मानसिक रूपमा थिचिएका हुन्छन् । यस्तो तनावको निकास पाउन नसक्दा उनीहरू सामाजिक सञ्जाललाई ‘भावनिक निष्कासनको माध्यम’ बनाउँछन् । मनोविज्ञानका अनुसार, जब मानिसलाई असुनुवाइ, तुच्छता वा अन्याय भोग्नु पर्छ, उनीहरू आफूलाई अर्थपूर्ण र शक्तिशाली बनाउने प्रयासमा अरूलाई आक्रमण गर्छन् । सामाजिक सञ्जालमा उनीहरूको ‘क्रोधको च्यानल’ सजिलो रूपमा उपलब्ध हुन्छ ।
नेपाली समाज परम्परागत रूपमा सभ्य र मर्यादित भाषा प्रयोग गर्ने संस्कृतिमा अडिएको थियो । तर सामाजिक सञ्जालमा यतिबेला भाषा दिन-प्रतिदिन कटु, कठोर, अश्लील र अपमानजनक बन्दै गइरहेको छ । व्यक्तिहरू शब्द छान्नभन्दा पहिले भावनामा बग्न थालेका छन् ।
सञ्चारमाध्यममा, विशेषतः टिकटक, फेसबुक वा ट्विटर मा देखिने गालीगलौजले अब ‘व्यक्तिगत गाली’ मात्र होइन, सामूहिक भाषिक हिंसाको रूप लिँदै गएको छ । यसले भाषा संस्कृतिको नै अपमान गरिरहेको छ ।
आजको डिजिटल युगमा ‘भाइरल’ हुनु भनेको लोकप्रियता कमाउने सबैभन्दा छिटो तरिका हो । यसले धेरैलाई ‘जसरी भए पनि ध्यान तान्ने’ प्रवृत्तितर्फ डोऱ्याएको छ । धेरैलाई लाग्छ, शालीन भाषाले भन्दा कठोर र भड्किलो अभिव्यक्तिले बढी ध्यान खिचिन्छ । यसैले, कटुता, आक्रोश, अपमानजनक टिप्पणी वा भड्काउने भिडियोहरू भाइरल हुन्छन्, र त्यसको पुरस्कार स्वरूप ‘लाइक’, ‘शेयर’, ‘फ्लोअर’ र ‘प्रसिद्धि’ पाइन्छ । तर, यस्तो भाषिक असंवेदनशीलताले युवापुस्तामा भाषा संस्कृतिप्रतिको सम्मान घटाइरहेको छ ।
सामाजिक सञ्जालको अन्धाधुन्ध प्रयोग र त्यसमा अभद्र भाषा, आक्रोशपूर्ण टिप्पणी र अतिवादी अभिव्यक्तिका कारण व्यक्तिगत सम्बन्धमा दरार आउन थालेको छ । सामान्य कुराकानीको क्रममा उठेका विवाद सामाजिक सञ्जालमा सार्वजनिक बहसमा रूपान्तरण भएपछि मित्रता र पारिवारिक सम्बन्धसमेत बिग्रन थालेका छन् । विशेषतः नेपालमा अहिले सामाजिक सञ्जालको प्रयोगले राजनीतिक ध्रुवीकरण चर्काएको छ । कुनै नेताको समर्थन वा विरोध, राजनीतिक कटुता र वैचारिक असहिष्णुतालाई प्रश्रय दिएको छ ।
जब समाजका सदस्यहरू एकअर्कालाई अपशब्द, आरोप वा तुच्छता देख्न थाल्छन्, परस्पर विश्वास र सद्भाव कमजोर पर्छ । सामाजिक सञ्जालमा गलत सूचनाको आधिकारिकता बिना फैलने प्रवृत्तिले पनि समाजमा शङ्का र द्वेषको बीउ रोपिरहेको छ । यो प्रवृत्तिले सामाजिक एकता र सहअस्तित्वमा गम्भीर खतरा उत्पन्न गराएको छ । सोशल मिडियामा व्यक्त गरिने रिस, गाली र घृणा अब केवल ‘भर्चुअल’ मात्रै छैन, यसको असर व्यक्तिको अफलाइन व्यवहारमा समेत देखिन थालेको छ ।
मानिसहरू यति धेरै आक्रोश पोख्ने बानीमा परेका छन् कि सामान्य छलफल र मतभेदलाई पनि शत्रुता बनाउने मनोवृत्ति बढेको छ । यसले सामाजिक सहिष्णुता र बहसको संस्कृति समाप्त पार्ने खतरा निम्त्याएको छ ।
सामाजिक सञ्जालमा बनाइएको आभासी संसार (virtual reality) मा मानिसहरू आफूलाई जुनसुकै रूप दिन सक्छन्– साहसी, तिखो, विद्रोही वा उग्र । तर यस्तो व्यवहारले उनीहरूको सामाजिक छवि मात्र होइन, वास्तविक जीवनको सामाजिक चरित्रमा पनि कठोरता, असहिष्णुता र आक्रोशपूर्ण व्यवहार बढाउन थाल्छ ।
धेरै युवाहरू यस्ता ‘डिजिटल स्वभाव’को प्रभावमा वास्तविक सम्बन्धहरू पनि नष्ट पार्न थालेका छन् ।
डिजिटल युगमा नागरिक अधिकारसँगै डिजिटल जिम्मेवारी (digital responsibility) पनि अनिवार्य हुन्छ ।
सामाजिक सञ्जालमा गरिने हरेक अभिव्यक्ति शब्द मात्रै होइन, समाज निर्माणमा प्रयोग हुने ‘ईंट’ जस्तै हो । त्यसैले अब हाम्रो शिक्षाको ढाँचामा साइबर आचारसंहिता, डिजिटल नागरिकता र संवेदनशील संवाद अनिवार्यरूपमा समावेश गरिनुपर्ने आवश्यकता देखिन्छ ।
नेपाल सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी निर्देशिका, साइबर अपराध नियन्त्रण ऐन, तथा सूचना प्रविधिसम्बन्धी नीति बनेको छ । सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण (NTA) र गृह मन्त्रालयले कहिलेकाहीँ भाइरल भइदिएका आपत्तिजनक सामग्रीमाथि कारवाही पनि गरेका छन् । तर यी प्रयास अझ स्पष्ट, सर्वसुलभ र प्रभावकारी हुनु आवश्यक छ । उदाहरणका लागि २०७९ मा सरकारद्वारा प्रस्तावित ‘सञ्चार तथा सूचना प्रविधि विधेयक’ले सामाजिक सञ्जालमा गलत सूचना, गाली र मानहानी गर्नेहरूलाई नियमन गर्ने प्रावधान समेटेको थियो, तर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने डर भन्दै आलोचना भयो । सरकारको नियमन र नागरिकको स्वतन्त्रता बीचको सन्तुलन कति संवेदनशील छ । सञ्चारको अर्थ एक अर्कालाई बुझ्नु हो, हराउनु होइन । त्यसैले सामाजिक सञ्जालमा बहस होइन, संवादको संस्कृति विकास गर्नु अहिलेको प्रमुख आवश्यकता हो ।
संवाद, सम्मान र मतभेदलाई स्वीकार्ने नैतिक अनुशासन सिर्जना गर्न स्कूल, कलेज, नागरिक समाज र मिडिया सबैले भूमिका खेल्नुपर्ने समय आएको छ । हामीलाई चाहिएको हो साइबर साक्षरता जहाँ हामी सिक्न सक्छौं कुन अभिव्यक्ति उपयुक्त हो, कुन गलत सूचना हो, कसरी डिजिटल व्यवहार गर्नुपर्छ । साथै, भावनात्मक बुद्धिमत्ता (emotional intelligence) विकास गर्न पनि आवश्यक छ, जसले मानिसलाई रिस नियन्त्रण गर्न, सहानुभूति राख्न र विवेकपूर्ण व्यवहार गर्न प्रेरित गर्छ ।
निष्कर्ष
सामाजिक सञ्जाल एउटा अद्भुत साधन हो यदि त्यसको प्रयोग विवेक, जिम्मेवारी र सद्भावसहित गरियो भने । यदि यसलाई रिस पोख्ने, आक्रोश फैलाउने र अपमानजनक अभिव्यक्तिको थलो बनाइयो भने, यसले समाजमा अराजकता, द्वन्द्व र अविश्वास बढाउनेछ । स्वतन्त्रता र संयमको सन्तुलन अब समयको आवश्यकता बनेको छ । संवादको शुद्धिकरण, अभिव्यक्तिको मर्यादा र डिजिटल संस्कृतिको परिष्कार यी तीन तत्व सामाजिक सञ्जालको सही प्रयोगका लागि मार्गदर्शक बन्न सक्छन् । हामीले अब भर्चुअल रियलिटीलाई सामाजिक यथार्थ बन्ला कि नबन्ला भन्ने कुरा छोड्नुभएन । यसकारण, समयमै चेतना, सुधार र पहल आवश्यक छ ।
(लेखक नेपाल बौद्धिक परिषद्का प्रचार सचिव हुन् ।)