सशस्त्र प्रहरी द्वारा एक भारतीयको शव फेला

145 Shares

रौतहट/
रौतहट को गुजरा–७ पल्टुवा स्थित कुर्मीटोलमा बागमती नदीबाट आएको नहरबाट सशस्त्र प्रहरीले आइतवार एक व्यक्तिको शव फेला पारेको छ ।
भारतको बिहार राज्य जिल्ला खगडिया ग्राम पछौरा–२ का ३० बर्षीय रोहित कुमार सिंहको शव फेला पारि आफन्तलाई जिम्मा लगाएको सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा.रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतले जानकारी दिनु भयो ।
चन्द्रपुर –१ नुनथर स्थित बागमती नदीमा रहेको झोलुङ्गे पुल मुनि मादक पदार्थ सेवन गरी बागमती नदीमा नुहाउन जाने क्रममा अचानक नदीले बगाई सिंह बेपत्ता हुनु भएको थियो ।
सशस्त्र प्रहरी उपरीक्षक बस्नेतका अनुसार यस अघि साउन १० गतेका दिन चन्द्रपुर –१ नुनथर स्थित बागमती नदीको डिलबाट आत्महत्या गर्न खोज्ने एक भारतीय नागरिकको जिवितै उद्दार गरेको जानकारी दिनु भयो ।
भारतको जिल्ला सितामढी भुटी बस्ने ४५ बर्षीय रामविर महत्तोले आत्महत्या गर्नको लागि बागमती नदीमा हाम्फालेको देखे पश्चात सोही नदीमा खोज तलास कार्यमा खटिएको सशस्त्र प्रहरीको टोलीले महतोलाई जिवितै उद्धार गरी आफन्तलाई जिम्मा लगाएको वहांले बताउनु भयो ।
सशस्त्र प्रहरी उपरीक्षक बस्नेतका अनुसार आफु कार्यभार सम्हालेको साढे पांच महिनामा सवारी दुर्घटनामा उद्दार ६२ वटा, आगलागी नियन्त्रण ४० वटा र नदी तथा खोलाले बगाएको ८ वटा घटनाहरुमा खोज तलास कार्यमा परिचालित भई ८ जना मृतकको शब नदीबाट निकालेको जानकारी दिनु भयो । सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा.रौतहटबाट ५८० जना सशस्त्र प्रहरी कर्मचारीहरु उद्धार कार्यमा परिचालित भई विपद् व्यवस्थापनको कार्यमा समेत उत्कृष्ट कार्य गर्दै आईरहेको वहांले बताउनु भयो ।

 

सम्बन्धित समाचार

सबै