रौतहट/रौतहट सदरमुकाम गौरमा रहेको करदाता सेवा कार्यालयको सामान सार्न खोजे पछि शुक्रवार गौर बजार तनावग्रस्त बनेको छ । करदाता सेवा कार्यालय गौरमा रहेको सामान तथा करदाताको फाइल गौरबाट आन्तरिक राजश्व कार्यालय सिमरा, बारामा सार्न खोजेको भन्दै उद्योगी,ब्यापारी आन्दोलित भएका छन । ट्रकमा लोड भइ सकेको सामान उद्योगी, ब्यापारीले अनलोड गर्न लगाएको रौतहट उद्योग बाणिज्य संघका महासचिव सन्तोष केशरीले जानकारी दिनु भयो । रौतहट उद्योग बाणिज्य सङ्हको नेतृत्वमा गौर बजार बन्द गरिएको छ ।घन्टाघर चोक, गौरमा उद्योगी, ब्यापारीले टायर बालेर प्रदर्शन गरेका छन् साथै उद्योगी, व्यापारीहरु गौर भन्सार अगाडि धर्ना दिएर नाराबाजी गरेका छन् । रौतहट उद्योग बाणिज्य संघले शुक्रवार नै अनिश्चितकालिन गौरका सम्पूर्ण बजार,कल कारखाना,पूर्ण रुपमा बन्द गर्न आह्वान गरेको छ ।फागुन ३ गते सम्म कुनै ठोस पहल नभए ४ गते देखि यातायात तथा नेपाल भारत नाका पूर्ण रुपमा बन्द गरिने रौतहट उद्योग बाणिज्य संघका महासचिव केशरीले जानकारी दिए । नेकपा एमालेका रौतहट जिल्ला इन्चार्ज तथा रौतहट क्षेत्र नं.१ मा नेकपा एमालेबाट उम्मेदवार समेत रहेका अजय कुमार गुप्ताले उद्योगी, ब्यवसायीको मागमा आफ्नो साथ रहने बताएका छन् । निर्वाचनको मुखमा यस्ता गतिबिधी गरेर निर्वाचनमा अबरोध हुने कार्य नगर्न सम्बन्धित निकायलाइ उनले ध्यानाकर्षण गराए । नेपाली कम्युनिस्ट पार्टिका नेता रेवन्त झाले गौरमा कार्यालयको आफ्नै भवन रहेको र सिमरामा गएर काम गराउन दुरि हुनुको साथै खर्चिलो हुने भएकोले गौरबाट सेवा प्रवाह हुनु पर्नेमा जोड दिए । नेपाली काङ्ग्रेस मधेश प्रदेश प्रचार प्रसार प्रमुख नितेश कुमार गुप्ताले गौरबाट समान लैजान खोज्नु निन्दनिय रहेको प्रतिक्रिया दिएका छन् । माघ १ गते देखि कार्यालयले सेवा प्रवाह बन्द गरेको छ । कार्यालयबाट सम्पादन हुने काम हाल कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले गर्दै आएको छ