
दशैं तथा अविरल बर्षाका कारण सरकारले दिएको २ दिनको बिदा सकिएको भोलिपल्ट मंगलबार देखि सरकारी कार्यालय खुले पनि सदरमुकाम गौरका अधिकांश सरकारी कार्यालय सुनसान देखिएका छन् । धेरैजसो सरकारी कार्यालयमा कार्यालय सहयोगी मात्र देखिएका छन् । केहि कार्यालय सेवाग्राहीको प्रतिक्षामा बसेको देखिएको छ ।
सवै भन्दा बढि भिडभाड हुने जिल्ला प्रशासन कार्यालय रौतहटमा समेत न्यून मात्रामा सेवाग्राही देखिएका छन् । राष्ट्रिय परिचय पत्रका लागि २०÷२५ जना सेवाग्राही देखिए पनि नागरिकता बनाउनेको संख्या २÷३ जना मात्र रहेका थिए । करदाता सेवा कार्यालय,पूर्वाधार विकास कार्यालय,पर्यटन विकास कार्यालय लगायतका कार्यालय सुनसान नै रहेका छन् ।
अधिकांश कार्यालयमा कार्यालय प्रमुखको समेत उपस्थिति रहेको थिएन । सदरमुकाम गौरमा अहिले पनि बाढि र बर्षाको पानि रहेकोले मंगलबार सेवाग्राहीको चाप कम रहेको जिल्ला प्रशासन कार्यालय रौतहटका नायव सुब्बा राम नरेश साहले बताउनु भयो । सदरमुकाम गौर आउने बाटो सहज नरहेकोले समेत गौरका सरकारी कार्यालय सुनसान देखिएको नेपाल पत्रकार महासंघ रौतहटका पुर्व अध्यक्ष प्रेमचन्द्र झाले बताउनु भयो ।
बिरेन्द्र राजमार्गको चन्द्रनिगाहपुर–गौर सडक खण्डको सबगढा लचकामा पानीको बहाब अत्याधिक रहेकोले मंगलबार पनि गौर प्रवेशमा कठिनाइ भइ रहेको छ । मंगलबार ट्रयाक्टरबाट सवगढा लचका वारि पारि भइ रहेको स्थानिय दिलिप पाण्डेले बताउनु भयो । त्यस्तै गंगापिपराबाट गौर आउने बाटो अझ अबरुद्ध रहेको छ । मुडवलबा अगाडि पानीको बहाब अत्याधिक रहेकोले सो बाटो अबरुद्ध रहेको स्थानिय राकेश यादवले जानकारी दिनु भयो ।
बाटो असहज भए पनि मुडवलबा देखि ट्रयाक्टरबाट कार्यालय पुग्नु भएका जिल्ला हुलाक कार्यालय गौरका प्रमुख देवनाथ यादवले कर्मचारीहरु दुख कष्ट गर्दै कार्यालय आइ पुगे पनि गौर बजार अझै जलमग्न हुँदा सेवाग्राही आउन नसकेको बताउनु भयो ।
भारतीय पक्षले गौर बैरगनिया सिमानामा अग्लो बाँध बाँधेको र बाँधमा रहेको सुलिश गेट खोल्न भारतीय पक्ष नमानेका कारण गौर अहिले पनि जलमग्न रहेको छ । सुलिश गेट खोल्नको लागि पहल गर्दा समेत भारतीय पक्ष खोल्न नमानेको रौतहटका प्रमुख जिल्ला अधिकारि बिनोद कुमार खडकाले जानकारी दिनु भयो ।
उहाँका अनुसार बाढिका कारण रौतहटमा ४ सय १२ परिवार बिस्थापित भएका छन् ।