जेष्ठ नागरिक भन्नाले उमेर पुगेका कारण वृद्ध अवस्था भएका अर्थात् ६० वर्ष वा सो सरह भन्दा बढी उमेर पुगेका व्यक्तिलाई जेष्ठ नागरिक भनिन्छ। जेष्ठ नागरिक सम्मानित नागरिक हुन् । ती व्यक्ति जो समाजमा योगदान दिएका अनुभवपूर्ण र मार्गदर्शन गर्न सक्ने व्यक्तिहरुमा पर्ने गर्दछन्। जेष्ठ नागरिकको महत्व समाजमा ठूलो छ किनकि यिनीहरु ज्ञान, अनुभव, संस्कार, संस्कृति भित्र्याउने अनुपम उपहार पनि हुन्। जीवनमा यिनीहरुले विभिन्न क्षेत्रमा योगदान पुर्याएका हुन्छन् र घर समाज र राष्ट्रका गहना पनि हुन्। जब घरमा महत्वपूर्ण निर्णयका कुरा गर्नुपर्ने हुन्छ तब घरका जेष्ठ सदस्यको महत्वपूर्ण भूमिका हुन्छ। जसको घरमा जेष्ठ नागरिकको अनुपस्थिति हुन्छ या अभाव हुन्छ त्यहाँ सधैं निर्णायक भूमिका मा अभावको महसुस नै हुन्छ र सधैंभरि उनीहरूको उपस्थिति खड्किरहेको हुन्छ । तर बदलिएको समय र आधुनिक युग सँगै आजकलका नयाँ पुस्ताले पहिलाका पुराना बुढाबुढी भनेर कतिपयले कम महत्व दिएको पाइन्छ। चाहे घर मा होस् या राजनीति र शासन पद्धतिमा ।तर सयौं किताबी ज्ञानले दिन नसकेको ज्ञान एउटा व्यक्तिको जन्मदेखि मृत्यु पर्यन्त सम्मका अनुभवले दिन्छ जुन कुराहरु पछिल्ला पिढीहरूले अक्षर अक्षरमा पालना गर्नुपर्ने देखिन्छ। पछिल्लो समयमा विशेष गरेर राजनीति क्षेत्रमा बुढोलाई नदिने अर्थात् नयाँ युवा जोश भएको आउनुपर्छ भनेर जनताको ध्यान केन्द्रित गर्न लागिरहेको देखिन्छ। के सबै कुरा फाल्न योग्य होलान् ? के जेष्ठ नागरिक उनका विचार अनुभव पनि बिग्रिएका थोत्रिएका सामान जसरी फाल्न योग्य छन् त ? पुराना राजनीति दल, पुरानो मान्छे ठिक छैन भन्ने कुरा के यसमा १०० प्रतिशत सही हो त ? पुरानो राजनीतिक दलमा के सबै पुराना मान्छे मात्र छन् त ? पुरानो अर्थात् जेष्ठ नागरिकमा राखिएका अनुहार सामान्यदेखि शिक्षाविद, विषय विशेषज्ञ, राजनीतिक नेता वैज्ञानिक आदि सबैलाई मिति सकिएकामा राख्ने कि उनीहरुको कुरालाई मनन गर्दै सुधार गर्दै लैजाने? उनीहरूको जीवन सम्बन्धित क्षेत्रमा बितेको होइन र? गल्तीलाई सुधार्नु परिमार्जन गर्दै लैजानु र नयाँलाई पुस्तान्तरण गर्न प्राकृतिक नियमको सिद्धान्त पनि होला। तर कामै नलाग्ने असफल भनेर भन्न मिल्ला र? विश्व इतिहास र वर्तमान परिवेश हेर्ने हो भने देशको प्रमुखमा रहेर सफलतापूर्वक शासन पद्धति कुशलतापूर्वक दौडाइरहेको पाइन्छ । काम गर्ने क्रममा भलै केही त्रुटि , गल्ती नहोलान् भन्न नसकिएला तर देशै निकाला गर्नुपर्ने, कुटपिट नै गर्नुपर्ने के यो मानवीय पन हो । जेष्ठ नागरिकमा अहिलेको प्रचलित भाषामा पुराना नेता भनिएर हेलाका पात्रमा राखिएका, सत्ता चलाएका व्यक्तिहरू जसले युवा अवस्थाबाट नै आफ्नो सम्पूर्ण जीवन राजनीति तथा देशको सेवामा समर्पित गरेका थिए ।जस्तै उदाहरण नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला ८६ वर्षसम्म आफ्नो जीवन राजनीतिमा बिताएर देश र जनताको लागि खटेका थिए। त्यसैगरी शेरबहादुर देउवा ७७ वर्षसम्म सक्रिय राजनीतिमा सक्रिय राजनीतिमा जीवन बिताए। कमी कमजोरी र गल्तीको सजाय कानुनले दिने थियो होला तर उनी भौतिक आक्रमणबाट पनि पीडित भए। त्यसैगरी केपी ओली बासस्थान जलेर गुहार माग्न पर्यो । यस्तैगरी धेरै नेताहरूको जीवनमा पनि उतारचढाव देखिएको पाइन्छ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ७५ वर्षका अहिले पनि प्रख्यात शक्तिशाली व्यक्तित्वको रुपमा चिनिन्छन् जसले भारतलाई प्रधानमन्त्री भएर विश्व प्रतिस्पर्धामा आफ्नो देशलाई हाँकिरहेका छन्। त्यस्तै अमेरिकाका जो बाइडेन राष्ट्रपति हुँदा ७६ वर्षका थिए। जसले अमेरिकाको जस्तो देशलाई अभिभावक भएर राष्ट्रपतिको भूमिकामा आफूलाई अब्बल साबित गरे। त्यसैगरी नेल्सन मण्डेला, भारतमा महात्मा गान्धी, रानी एलिजाबेथ द्वितीय जस्ता कुशल व्यक्तित्वहरूले जीवनको उत्तरार्ध सम्म सही नेतृत्व गरेको पाइन्छ। नेपालको वर्तमान परिपक्षमा हेर्ने हो भने जेन्जी आन्दोलनपछि पुराना दल र पुराना नेता भनेर वितृष्णा फैलाएको पाइन्छ ।पुरानाले केही गलत गरे त्यही भएका युवाहरू किन अन्धभक्त भएर पछि लागे? किन उनीहरुले गलतलाई गलत भन्न सकेनन् ?अनि के पुराना राजनीतिक पार्टीमा सबै पुराना व्यक्ति मात्रै थिए त ? अनि नयाँ पार्टीमा के सबै युवा मात्र थिए त ? सबै क्षेत्र अनुभवी विज्ञको आवश्यकता हुने तर यस क्षेत्रमा लागू हुनु पर्ने कि नपर्ने ? पुरानोको अनुभवलाई सिपलाई अँगाल्दै परिमार्जन गर्न पनि सकिन्थ्यो होला। कति परिमार्जन गर्ने कति पूर्णरुपमा बन्द गर्ने भन्ने विषयमा छलफल हुनुपर्छ कि पर्दैन? युवा आफैमा जोस जाँगर भएका क्षमतावान होलान् तर कामको अनुभव अनि विज्ञताको अभाव नहोला भन्न सकिँदैन त्यसैले सबै कुरामा ज्ञान बाँड्न पर्ने आवश्यकता देखिन्छ। पुराना भनेर वितृष्णा फैलाइरहँदा तिनैलाई सच्चाउने कसले? राजनीतिक दलमा आबद्ध भएका युवाहरुले किन कमी कमजोरीलाई पार्टीभित्र आन्तरिक विद्रोह गर्न सक्दैनन्। सुरुसुरुमा भएको गल्तीलाई त्यतिबेला नै गल्ती औल्याउने अर्थात् आन्तरिक रुपमा आलोचना गरेको भए पछिल्ला दिनमा ठूलो गल्ती पक्कै हुने थिएन होला। युवा हुँदै राजनीतिक रूपमा अगाडि बढेका अहिलेका पुराना नेतालाई डेट एक्सपायर सामग्री जस्तै रद्दीको टोकरीमा राख्नुपर्छ भन्ने आशय कहाँसम्मको जायज हुन्छ ? पुरानालाई सम्मान गर्दै उनीहरूको ज्ञान अनुभवलाई लिएर नयाँले नेतृत्व गर्नु नराम्रो मानिदैन। तर उनीहरुलाई अपमान गरेर र उनीहरुले गरेका योगदानलाई पनि तिरस्कार गरेर अगाडि बढ्नु नयाँको राजनीतिक संस्कृति पनि राम्रो मानिदैन। अहिले राजनीतिक संस्कार बिग्रँदै गएको छ। अनुशासन नियम संस्कार बोली भाषामा हाम्रो पुरानो मान्यतालाई कताकता छोडेको अनुभव हुन्छ। भौतिक रूपमा होस्, चिया पसलमा होस् या बाटोघाटोमा होस् अझ भनौ भने सामाजिक सञ्जालमा होस्। तथानामका गालीहरु पाइन्छन । के यो नेपाली संस्कारले दिएको मान्यता हो? सम्पूर्ण कुराहरूलाई नियन्त्रण गर्ने हाम्रो कानुन छ। हाम्रो संस्कार, हाम्रो संस्कृति र यो शासन पद्धतिमा चल्ने राजनीतिक संस्कार कहाँ पुग्यो? गलत गलत नै हुन्छ सही सही नै हुन्छ र गलतलाई सही मान्न सकिँदैन। तर परिमार्जन गर्न सकिन्छ। जोसुकैले गरोस्। तर गाली गर्ने भौतिक आक्रमण गर्ने प्रवृत्ति लोकतन्त्रमा राजनीतिक संस्कारले दिँदैन। यस्ता प्रवृत्तिहरू सुधारिँदै र निखारिँदै जानुपर्छ। नयाँ हुन् या पुराना राम्रो कामको स्मरण गरिनुपर्छ ।योगदानको कदर गर्न सिक्नुपर्छ ।