रौतहटको गौर गंगापिपरा फुलबरिया सडक कालोपत्रे कार्य निर्माण सम्पन्न नहुँदै भत्किएको छ । जिल्लाको महत्वपूर्ण योजनाका रुपमा रहेको निर्माणाधीन गौर नगरपालिका–८, हनुमान मन्दिरदेखि माधवनारायण नगरपालिका–७, कुशवाहा चोकसम्मको १२ किलोमिटर सडकमध्ये कालोपत्र गरिएको सडकको अधिकांश ठाउँमा भत्किने, भासिने, उप्किने र ठाउँ ठाउँमा चिरा परेको समस्या देखिएको छ ।
निर्माण कम्पनीले कम गुणस्तरको काम गरेकाले कालोपत्रे गरेको पांच महिना नबित्दै सडक भत्किएको, भासिएको,केहि ठाउँमा उप्किएको र चिरा परेको स्थानीय दुर्गा भगवती –२ भलोहियाका राम चन्द्र दाशले बताएका छन् । निर्माण सम्पन्न नहुँदै ठाउँ ठाउँमा सडक भत्किन थालेपछि सडक गुणस्तरीय निर्माण गर्न आफुहरुले पटक–पटक माग गर्दै आएको दुर्गा भगवती –३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले बताए । जिल्लामा सव भन्दा बढि ओहोर दोहोर हुने सडकको रुपमा रहेको गौर गङ्गा पिपरा सडक कमसल निर्माण भएका कारण कालोपत्र सडक केहि दिनमै भत्किन शुरु भएको दुर्गा भगवती –४ का राजीव मिश्रले भने । उनले भने , “सधैँ धुलाम्मे र हिलाम्मे हुने सडक कालोपत्र हुँदा खुसी भएका थियौँ, तर बाटो कालोपत्र भएको महिना दिनमै ठाउँ–ठाउँमा उप्किन थाल्यो, भासिन थाल्यो ।”
उक्त सडकखण्ड कालोपत्रेका लागि साह निर्माण सेवा मलङ्गवा, सर्लाहीसँग सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले २०७९ असार १७ गते सम्झौता गरेको थियो । १२ किलोमिटर सडक कालोपत्रेका लागि २० करोड ५० लाख ८६ हजार रुपियाँमा ठेकेदारले सम्झौता गरे पनि निर्माण कम्पनीले भेरिएसनको लागि निवेदन दिए पछि कार्यालयले भेरिएसन गरेको र भेरिएसन सदरपछि उक्त सडक कालोपत्रे बापत ठेकेदारले २३ करोड पाँच लाख ४३ हजार रुपियाँ पाउने सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
निर्माण कम्पनीले सडक कालोपत्रे गरेको केहि स्थानमा सडक भत्किने र भासिन पुगेको कुरा स्वीकार गर्दै सडक डिजन कार्यालय चन्द्रनिगाहपुरका सूचना अधिकारि संजय कुमार यादवले निर्माण कम्पनिले सबै काम सम्पन्न गरेर हस्तान्तरण नगर्दासम्म बीचमा आउने समस्या समाधान गर्न लगाइने बताउनु भयो । काम सम्पन्न भएको १३ महिना सम्म सडक भत्किने वा भासिन पुगेको खण्डमा समेत त्यसको सम्पूर्ण मरम्मत सम्भार निर्माण कम्पनीले गर्नु पर्ने उनले भने ।
कालोपत्रे भएको स्थान मध्ये पचरुखी चोक देखि कछुअवा पूल सम्मका केहि ठाउँमा सडक मरम्मत कार्य जारी रहेको उहाँले बताउनु भयो । निर्माणाधीन सडक भत्केको र भासिएको स्थानमा अनुगमन गरि सम्झौता अनुसारको गुणस्तरीय सडक कालोपत्रेका लागि निर्माण कम्पनीलाई आग्रह गरिएको उनले जानकारी दिएका छन् ।
बर्षौं देखि साँघुरो र कच्ची सडक रहेको र हाल चौडा गरेर सडक कालोपत्रे गरेका कारण सडक उप्किएको उनको भनाइ रहेको छ ।
१० मिटर चौडाइ रहेको सडकको हालसम्मको भौतिक प्रगति ८५ प्रतिशत रहेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका सूचना अधिकारी यादवले बताउनुभयो । ठेक्काको म्याद २०८२ चैत मसान्त सम्म मात्र रहेको उनले भने ।