असिना र हावाहुरीले पिडित किसानलाइ क्षतिपुर्तिको माग

20 Shares

बेमौसमी असिनापानी र हावाहुरीको कारण रौतहटको बौधीमाई नगरपालिकाका किसानहरुको हिउदे बालीमा ब्यापक क्षति पुर्याएको भन्दै नगर प्रमुख प्रदीप कुमार यादवको नेतृत्वमा एक टोलीले प्रधानमन्त्री तथा मुख्यमन्त्रीलाई तत्काल राहत उपलब्ध गराउन रौतहटका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएकोछ ।
बुधबार जिल्ला प्रशासन कार्यालय रौतहटमा बुझाइएको ज्ञापन पत्रमा नगरपालिकाले यसलाई गम्भीर प्राकृतिक विपत्तिको रुपमा लिएको तथा संघ र प्रदेश सरकारसँग तत्काल राहत तथा क्षतिपूर्तिको बन्दोबस्त मिलाई किसानहरुलाई राहत उपलब्ध गराउन माग गरिएको नगर प्रमुख यादवले बताए । बौधीमाई नगरपालिकाको सवै वडामा गहुँ, मकै, तोरी, मसुरो, तरकारी तथा आँप, केरा, लिची जस्ता फलफूल खेतीमा ठूलो नोक्सानी भएको उनले जानकारी दिए । यस्ता विपत्तिले किसानहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर पार्नुका साथै खाद्य सुरक्षामा समेत चुनौती थपिएको उनले भने ।
क्षतिको यथार्थ विवरण संकलन, तत्काल राहत वितरण तथा दीर्घकालीन विपद् व्यवस्थापन योजना लागु गर्न सरकारसँग जोडदार रुपमा माग गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । बारम्बार हुने प्राकृतिक विपत्तिबाट किसानलाई जोगाउन बाली बीमा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने समेत मांग रहेको छ ।
चालु आर्थिक वर्षमै पटक–पटक विपत्ति भोगिरहेका यहाँका किसानहरू अझ सम्म राहत नपाएको गुनासो गर्दै नगरप्रमुख यादवले ढिला नगरी ठोस कदम चाल्न संघ तथा प्रदेश सरकार संग आग्रह गरेको नगरपालिकाका उपप्रमुख प्रमिला देवीले बताए ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भुसालले असिनापानी र हावाहुरीबाट किसानहरुको भएको हानी नोक्सानी सम्बन्धमा जिल्ला कृषि ज्ञान केन्द्र मार्फत क्षतिको विवरण संकलन गराउने तथा ज्ञापन पत्रलाई प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र मुख्यमन्त्री कार्यालयमा पठाउने बताए ।

सम्बन्धित समाचार

सबै