नदेखिएका घाउहरू

403 Shares

नदेखिएका घाउहरू ती हुन् जसलाई आखाले देख्दैनन् तर मनले निरन्तर महसुस गरिरहन्छ। बाहिरबाट मानिसहरू हाँसिरहेको देखिए पनि भित्रभित्रै धेरै चोटहरूले उनीहरूलाई थिचिरहेको हुन्छ। कहिलेकाहीँ शब्दभन्दा मौनता गहिरो हुन्छ, र त्यो मौनताभित्र लुकेका पीडाहरू अझ भारी हुन्छन्। समाजले देख्ने घाउहरू मात्र बुझ्छ, तर नदेखिएका घाउहरू आत्माको गहिराइमा बगिरहन्छन्। सम्बन्धमा आएको धोका, विश्वासको टुटाइ, अनि अपमानका ती तीतो पलहरू मनमा दाग बनेर बस्छन्। यी घाउहरू न त सजिलै देखिन्छन्, न त सजिलै निको हुन्छन्। समयले केही मलम लगाउन सक्छ, तर स्मृतिहरू सधैं बाँकी रहन्छन्। वास्तवमा, सबैभन्दा गहिरो चोटहरू त्यही हुन्छन् जुन बाहिर देखिँदैनन्।
मानिसको जन्मसँगै मृत्युसम्मको यात्रामा विभिन्न आरोह अवरोह उतारचढाव पार गर्दै यही धर्तीबाट नै बिदा हुन्छ । यिनै जिन्दगीका गोरेटोहरुमा विभिन्न घटनाहरुबाट अपेक्षित र उपेक्षित हुन पुग्दछ । सायद सबै कुरामा सहज जीवन कसैको छैन होला वा हुँदैन होला तर प्रत्येक मानिसका आत्माकथा जीवनका अंश जस्तै बनेर आउन सक्छन् । कसैका व्यथा सह्य होलान् कसैका असहिय होलान्। कोही पत्नी पीडित होलान् कोही पति पीडित होलान् तथा धेरै थरिका पीडक तथा पीडितहरू जहाँ एकका कारणले अर्काको जीवनलाई असर पारिरहेका हुन्छन्। जीवनका भोगाइ तथा लेखाइमा धेरै त्यस्ता परि घटनाहरू देखिन्छन् जसले मन मुटु छुन्छ र भावना पोख्न मन लाग्छ। शब्दले कोरेर ओकल्न मन लाग्छ। चाहे आफ्नो होस् चाहे अर्काको होस । धेरै अगाडि एउटा सानो बाबु प्रायजसो आफ्नो हजुरबुबासँग विद्यालय आउने गर्दथ्यो । त्यो बाबु खुसी मुद्रामा पनि देखिँदैनथ्यो। कतिपय बाल मनोविज्ञानका कुराहरू सबैले बुझ्नु पनि पर्छ । ऊ खुसी किन देखिँदैन ? ऊ किन गम्भीर देखिन्छ ? उसलाई अध्ययन प्रति कतिको रुचि हुन्छ भन्ने कुरा ख्याल गर्नुपर्छ। एक दिन उसलाई सोध्न मन लाग्यो बाबु तिम्रो ममी बाबा कता हुनुहुन्छ ? उसले भन्यो बाबा काममा जानुहुन्छ। ममी हामीलाई छोडेर जानुभयो। मम्मी कहाँ जानुभयो? सोध्न मन लाग्यो सोधे। अनि बाबुले जवाफ दियो ममी हामीलाई छोडेर मामाघर बस्नुहुन्छ। अहिले विदेश जानुभएको छ रे। त्यसैगरी बाबु ठूलो हुँदै गयो । बिचबिचमा मैले सोध्ने गर्थे। मम्मी आउनुभो? तर बाबुले ममी आउनु हुँदैन । कहिलेकाहीँ मलाई मात्र छिमेकीको मोबाइलमा फोन गर्नुहुन्छ। तर आजकल त्यही फोन पनि गर्न छाड्नुभयो। यसरी दिन बित्दै गए बाबु अलिक ठूलो भयो। १२/ १३ वर्षको अझै पनि सोध्न छाडिन । ममी आउनुभयो त? अनि बाबुले भन्यो ममीले त अर्को बिहे गर्नुभयो रे । मलाई झन् नरमाइलो लाग्यो । सायद एकदिन पक्कै यो छोरा सम्झेर आउनुहुन्छ होला जस्तो लागेको थियो ।बाबु आफ्नो हजुरबुवा र बाबासँग बस्दै आएको थियो। एक दिन हजुरबुवा लौरी टेक्दै नातिलाई विद्यालयमा भर्ना गर्न आउनुभयो। फेरि पनि मलाई प्रश्न गर्न मन लाग्यो। बाबुको बाबा ममी को हालखबर के छ ? बाबुको मम्मी आउनुभयो त ? तर हजुरबुबाले अनौठो उत्तर दिनुभयो। कहाँ आउनु नानी मैले त उसलाई ४ हजारमा केस मिलाए । मलाई सुन्दा अचम्म लाग्यो यत्रो दुख दिएको मानिसले कसरी चार हजारमा मानेको होला भनेर । तर हजुरबुबाले धेरै वेदना खोल्नुभयो र भन्नुभयो बुहारीले धेरै दुःख दिई। घरमा पनि नआउने सम्पत्ति पनि मागिरहने । हामीले धेरै दुःख पायौं। पाँच छ वर्षसम्म घरमा पनि नआउने मिलौँ भन्दा पनि नमान्ने अनि अंश मागेर मुद्दा हालेर हैरान पार्ने ।अंश मागेर धेरै दुःख खेप्यौ। छोरो काममा जानुपर्ने म बुढो तारिखमा धाउनुपर्ने । मानसिक चिन्ताले हामीलाई खाएको थियो। सम्पत्ति केही थिएन । सुकुम्बासीमा झुप्रो बनाएर बसेका छौं। एउटा नाती छ। नातीलाई पढाउनु छ। छोराको सामान्य ज्यालादारी काम छ। बुहारी आफै विदेशमा बसेकी थिई। हाम्रो गल्ती केही थिएन। तैपनि उसले हामीलाई दुःख दिनका लागि सम्पत्तिको दाबी गर्दै गई । हामीसँग दिने सम्पत्ति केही थिएन। त्यही झुपडी पनि नदिए पुलिस ल्याएर निकाल्छु सम्म भन्ने गर्थी। कति दिन रोएर नखाई बस्यौ। कता कताबाट हल्ला सुने उसले बिहे गरेर बसेकी छ रे भन्ने सुने अनि एकजना बाबुलाई बाबु तिमीलाई चार हजार दिन्छु उसले बिहे गरेको हो कि होइन भनेर बुझ्न लगाए। बाबुले उसलाई पिछा गर्न थाल्यो। नभन्दै उसले आजभन्दा दुई वर्ष अगाडि बिहे गरिसकेकी रहीछ।अहिले चार महिना अगाडि मात्र सुत्केरी भएको रहेछ। त्यो बुझ्न बाबुलाई अस्पतालसम्म पठाइयो। आखिर बुझ्न पठाएको बाबुले अस्पतालमै छोरी पाएको अवस्थामा भेटेछन्। हजुरबुबाको अनुहारमा हाँसो अनि ‌खुसी हुँदै यी कुराहरु सुनाउँदै गए। नानी मलाई त अहिले यति हल्का भएको छ सम्पत्ति दिन पनि परेन मागेको भए पनि के नै थियो र? ढिलै भएपनि भगवानले हात थापे हामीलाई नानी । अब त राति सुत्दा पनि आनन्दले निन्द्रा लाग्छ भोको पेट भएपनि भन्दै हाँसोको फोहरा र मुस्कानसँगै खुसी हुँदै भाव व्यक्त गरे । एकातिर परिवारको बिछोडको पीडा ,अर्कोतिर नाती बाबुलाई जहिले पनि आमाको अभाव अनि अर्कोकोतिर मुद्दा मामलामा रातदिन मानसिक तनाव त्यत्रो सात आठ वर्षसम्म । त्यो परिवारमा कति तनाव भयो होला ? कस्तो विडम्बना बिहे गरेर बच्चा पाइसक्दा पनि पहिलाको पतिसँग मुद्दा मामला गरेर दुःख दिएर सम्पत्तिको डिमान्ड गर्ने । सुन्दा पनि अचम्म लाग्यो मान्छेको मानवता कहाँ छ? त्यसैले सबै बाहिर पीडित छु भनेकाहरू पनि सबै पीडित नहुने रहेछन्। वास्तवमा वास्तविक पीडितले न्याय खोज्न धेरै गाह्रो छ। तर ब्ल्याकमेलिङ गर्ने नक्कली पीडितहरुले साँच्चै नै दुःख दिएको अवस्था छ। यी समाजका केही नमुना घटनाहरू मात्रै होलान् तर कतिपय नदेखिएका घटनाहरू जो बाहिर आएका छैनन्। अथवा भन्न सकेका छैनन्। मनभित्र गुम्सिएका घटनाहरू कति होलान्। समाजमा यस्ता नदेखिएका घाउहरू धेरै छन्। कोट्याउँदै जाँदा कति घाउहरु आलै छन्। कति खाटा बसिसकेका छन्। महिला होस् या पुरुष होस् यसरी परिवारलाई पीडा कसैले दिनु हुँदैन।।

सम्बन्धित समाचार

सबै