संकटको घडीमा चुप कि बौद्धिक हस्तक्षेप?

635 Shares

नेपाल आज गम्भीर राजनीतिक मोडमा उभिएको छ। यो निर्वाचनको समय मात्रै होइन राज्यको दिशा, लोकतन्त्रको चरित्र र समाजको विवेक एकैसाथ परीक्षामा परेको घडी हो। पछिल्ला राजनीतिक गतिविधि, सार्वजनिक अभिव्यक्तिहरू र सामाजिक सञ्जालमा फैलिएको उक्साहटले देशलाई नीतिभन्दा भावनाबाट, संस्थाभन्दा भीडबाट र विचारभन्दा हल्लाबाट चल्ने खतरनाक दिशातर्फ धकेलिरहेको छ।
निर्वाचन लोकतन्त्रको आधार हो, तर निर्वाचन आफैंमा लक्ष्य होइन। यो सक्षम, जिम्मेवार र दीर्घकालीन सोच भएको नेतृत्व चयन गर्ने माध्यम मात्र हो। दुर्भाग्यवश, अहिलेको चुनावी वातावरण हेर्दा नेतृत्वको परिपक्वताभन्दा उक्साहट सिर्जना गर्ने क्षमतालाई नै योग्यताको मापदण्ड बनाइँदैछ। सामाजिक सञ्जालमा भाइरल हुने उत्तेजक अभिव्यक्तिलाई राजनीति ठान्ने प्रवृत्तिले लोकतन्त्रको मर्ममाथि गम्भीर प्रहार गरिरहेको छ।
अभिव्यक्तिको स्वतन्त्रता लोकतन्त्रको आधार हो, तर स्वतन्त्रताको नाममा समाजलाई विभाजन गर्ने, घृणा फैलाउने र अराजकतालाई वैध बनाउने प्रयास स्वीकार्य हुन सक्दैन। जहाँ आलोचना र उक्साहटबीचको सीमारेखा मेटिन्छ, त्यहाँ निर्वाचन लोकतान्त्रिक अभ्यास नभई भीड मनोविज्ञानको खेलमा सीमित हुन्छ। इतिहास साक्षी छ,भावनामा आधारित चुनावी राजनीति क्षणिक रूपमा आकर्षक देखिए पनि दीर्घकालमा राज्य र समाजका लागि विनाशकारी सावित हुन्छ।
आज समाजमा असहमतिप्रति असहिष्णुता बढ्दो छ। नयाँ पुरानोको धुर्बिकारण भएको छ । विवेकपूर्ण संवादलाई कमजोरी ठान्ने मानसिकता चुनावी मैदानमै फैलिँदैछ। यस्तो वातावरणमा स्वतन्त्र र निष्पक्ष निर्वाचन मात्र होइन, चुनावपछिको राजनीतिक स्थायित्वसमेत जोखिममा पर्छ।
यही सन्दर्भमा बौद्धिक वर्ग, प्राज्ञिक समुदाय, लेखक, शिक्षक, पत्रकार, कर्मचारी, युवा र सचेत नागरिक समाजको भूमिका निर्णायक हुन्छ। लोकतन्त्र केवल मतपत्रबाट सुरक्षित हुँदैन विचार, विवेक र निरन्तर बौद्धिक निगरानीबाट सुरक्षित हुन्छ। गलत प्रवृत्ति मौलाउँदा बौद्धिक वर्ग मौन रहनु तटस्थता होइन भविष्यको संकटप्रति उदासीनता हो।
आज देखिएका संकेत सामान्य छैनन्। समयमै गम्भीर निर्वाचन विश्लेषण नगर्ने हो भने देश दुर्घटनाको दिशातर्फ जान सक्छ। देशी–विदेशी शक्ति केन्द्रहरू केही राजनीतिक पात्र र भूगोलमा अस्वाभाविक रूपमा केन्द्रित देखिन्छन्। केपी ओलीलाई सिध्याएपछि एमाले कमजोर हुन्छ, एमाले कमजोर भएपछि राज्य कब्जा सजिलो हुन्छ भन्ने सोचले चुनावी वातावरण झन् विषाक्त बनाइँदैछ। हार स्वीकार नगर्ने, पराजयपछि अस्थिरता सिर्जना गर्ने र भौतिक टकरावतर्फ धकेल्ने संकेतहरू गम्भीर चेतावनी हुन्।
निर्वाचन नायक खोज्ने रंगमञ्च होइन , योग्यता, नीति, विचार र जिम्मेवारीको परीक्षा हो। आम जनता भावनामा होइन, विवेकमा मतदान गरून्। हल्लामा होइन, तथ्यमा भरोसा गरून्।
आज चुप लाग्नु विकल्प होइन। अब बौद्धिक हस्तक्षेप अपरिहार्य छ,संयमित तर दृढ, आलोचनात्मक तर जिम्मेवार। यदि आज विवेकको आवाज बलियो भएन भने भोलि लोकतन्त्र केवल कागजमा सीमित हुनेछ, र राष्ट्रले ठूलो मूल्य चुकाउनुपर्नेछ।सचेत, जिम्मेवार र विवेकपूर्ण हस्तक्षेप नै अहिलेको निर्वाचन र राष्ट्र दुवै जोगाउने एकमात्र बाटो हो।

सम्बन्धित समाचार

सबै