एकीकृत दलित बस्ती निर्माण गर्दै मौलापुर नगरपालिका

23 Shares

रौतहटको मौलापुर नगरपालिकाले एकीकृत दलित बस्ती निर्माण कार्यको थालनी गरेको छ ।
नगरपालिकाको वडा नं. ९ सोनरनियामा रहेको करिब डेढ बिघा ऐलानी जग्गामा एकीकृत दलित बस्ती निर्माण हुन् लागेको नगरप्रमुख रीना कुमारी साहले जानकारी दिए । झोपडी मुक्त नगरपालिका बनाउने नगरबासीसंग गरिएको वाचा पुरा गर्न कुनै कसर बाँकी नराख्ने उनले बताए । नगर प्रमुख साहले बुधबार एक कार्यक्रम बीच एकीकृत दलित बस्तीको सिलान्यास गरे संगै निर्माण कार्य अघि बढेकोे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बाबु प्रसाद साहले बताए ।
योजना अन्तर्गत ३० दलित परिवारका लागि शौचालय र खानेपानी सुविधासहित दुई कोठे पक्की घर निर्माण गरिने उनले बताए । त्यस्तै बस्तीभित्र सडक, नाला जस्ता आधारभूत पूर्वाधार समेत निर्माण गर्ने लक्ष्य रहेको उनले भने ।
एकीकृत दलित बस्ति निर्माण कार्यको लागि नगरपालिकाले प्रिसा–शृष्टि– श्री राम जेभीसंग २०८२ माघ ९ गते सम्झौता गरेको छ । परियोजना २०८५ असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
निर्माण कम्पनीले कुल ४ करोड ३९ लाख ७४ हजार १७७ रुपैयाँ ३४ पैसामा ठेक्का सकार गरेको छ । यो रकमको ३० प्रतिशत लागत मौलापुर नगरपालिकाले व्यहोर्नेछ भने बाँकी ७० प्रतिशत रकम रास्ट्रिय योजना आयोग मार्फत उपलब्ध हुने प्रमुख प्रशासकीय अधिकृत साहले भने ।
मौलापुर नगरपालिकाले यस अघि वडा नं. २ मर्यादपुर र वडा नं. ५ मौलापुरमा एकीकृत बस्ती निर्माण गरेको छ ।वडा नं. २ मर्यादपुरमा रहेको एकीकृत बस्तीमा २५ घरपरिवार र वडा नं. ५ मौलापुरमा रहेको एकीकृत बस्तीमा १७ घर परिवार रहेको उनले बताए ।
यसले दलित समुदायलाइ सुरक्षित आवास, आधारभूत सुविधा तथा सम्मानजनक जीवनयापनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको मौलापुर नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

सबै