मुद्दाको बोझ बोकेर मत माग्नेहरू: जनताको धैर्यको पनि सीमा हुन्छ

367 Shares

विदेशमा मुद्दा खेपेको इतिहास, नेपालमा दर्जनौँ सहकारी प्रकरणसँग जोडिएको विवाद,यति धेरै आरोप–प्रत्यारोप, अनुसन्धान र नैतिक बहसबीच पनि जनतालाई फेरि कति सजिलै झुक्याउन सकिन्छ भन्ने भ्रम किन पालिएको छ?

सहकारी प्रकरणहरू सामान्य आर्थिक त्रुटि होइनन ,ती हजारौँ बचतकर्ताको जीवनसँग जोडिएका पीडाका कथाहरू हुन्। विदेशमा उठेका कानुनी प्रश्न र नेपालभित्र देखिएका विवादहरूले एउटै सन्देश दिन्छन् ।राजनीति लोकप्रियताको खेल मात्र होइन, जवाफदेहिताको परीक्षा पनि हो।

तर केही नेताहरूमा एउटा स्थायी आत्मविश्वास देखिन्छ,चर्को बोलीले सबै ढाकिन्छ, भावनात्मक भाषणले तथ्य ओझेल पर्छ, र जनताको स्मृति कमजोर हुन्छ। यही मानसिकताले लोकतन्त्रलाई कमजोर बनाउँछ। जनतालाई सधैं भ्रममा राख्न सकिन्छ भन्ने सोच अब पुरानो भइसकेको छ।

चुनावको मैदानमा उत्रिनु अधिकार हो। तर नैतिक उचाइबिना उभिन खोज्नु जोखिम हो। पहिले आफ्नै विगत स्पष्ट पार्ने, अनुसन्धानको निष्कर्ष सार्वजनिक गर्ने, र राजनीतिक संस्कारको उदाहरण प्रस्तुत गर्ने साहस देखाउनुपर्छ। अन्यथा “अरू सबै भ्रष्ट, म मात्र शुद्ध” भन्ने भाषण अब विश्वसनीय हुँदैन।

जनता बुझिसकेका छन,को चर्को छ, को चरित्रवान्। लोकतन्त्रको अदालतमा अन्तिम फैसला भाषणले होइन, विश्वासले जितिन्छ। मुद्दाको बोझ बोकेर मत माग्नेहरूलाई यसपटक जनताले स्पष्ट सन्देश दिन सक्छ ।विश्वास कमाउन वर्षौँ लाग्छ, तर गुमाउन एक क्षण पर्याप्त हुन्छ।

सम्बन्धित समाचार

सबै