प्रणय दिवस र यसको अनुभुति

369 Shares

Valentine’s day अर्थात् प्रेम दिवस हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने विशेष दिवस हो। यस दिवसको सुरुवात सेन्ट भ्यालेन्टाइनले गरेका थिए। इटालीको रोमन साम्राज्यका सम्राट क्लाउडियास द्वितीयले सैनिकलाई विवाह गर्न निषेध गरेका थिए । तर सेन्ट भ्यालेन्टाइनले युवा युवतीको गोप्य रुपमा प्रेम विवाह गराइदिने कार्य गरे। यसकारण उनलाई पक्राउ गरी फेब्रुअरी १४ मा मृत्युदण्ड दिइयो र पछि क्रिश्चियन चर्चले उनलाई “सन्त”रूपमा मान्यता दियो।सन् ४९६ मा पोप जेलासियसले १४ फेब्रुअरीलाई “सेन्ट भ्यालेन्टाइन डे”रुपमा चर्च क्यालेण्डरमा राखे। यही दिनपछि प्रेम दिवसको रुपमा लोकप्रिय भयो। यसकारण उनी प्रेम र समर्पणको प्रतीक मानिए। प्रेम दिवस कुनै एक देशको सरकारी घोषणा होइन तर धार्मिक सम्झनाबाट सुरु भई सामाजिक परम्परामा विकसित भएको दिवस हो।इटालीको यो घटनाबाट सुरुवात भएको दिवस १४औं शताब्दीमा १३८२ तिर Parliament of Foules मा फेब्रुरी १४ लाई प्रेमसँग जोड्ने र त्यसपछि युरोपमा यो दिन प्रेमी प्रेमिकाको कविता, पत्र आदानप्रदान गर्ने चलन बढ्यो ।यसको विकास हुँदै गयो र रोमान्टिक प्रेमसँग स्पष्ट सम्बन्ध स्थापित भयो। यसैगरी आधुनिक युगसँगै ब्रिटेन अमेरिका जस्ता देशमा हातले लेखिएका प्रेम पत्र र कार्ड पठाउने चलन सुरु भयो। मध्ययुगमा इङ्ल्याण्ड र फ्रान्समा १४ फेब्रुअरीलाई प्रेम अभिव्यक्त गर्ने दिन मान्न थालियो। १९औं शताब्दीमा छापाखानको विकाससँगै व्यावसायिक valentine कार्ड उत्पादन हुन थाल्यो । औद्योगिकरणसँगै प्रेम पत्र ,कार्ड फूल,चकलेट तथा विशेष गरेर गुलाबको फूल उपहार दिने चलन हुन थाल्यो। एवंरितले यो दिवस विश्वव्यापी रुपमा एसिया अफ्रिका लगायत संसारभर फैलियो । प्रेम दिवसको उत्पत्ति धार्मिक स्मृतिमा आधारित भएपनि यसको वर्तमान स्वरूप मध्ययुगीन साहित्य सांस्कृतिक परिवर्तन र आधुनिक व्यापारिक प्रभावको संयुक्त परिणाम हो। ऐतिहासिक रुपमा सेन्ट भ्यालेन्टाइनको स्मृति दिवस प्रमाणित भएपनि रोमान्टिक परम्परा क्रमिक रुपमा विकास भएको देखिन्छ। प्रेम केवल प्रेमी प्रेमिका बीच मात्र होइन परिवार साथी र जीवन साथीबीच पनि व्यक्त गर्न सकिने दिनका रुपमा लिन सकिन्छ। नेपाल पनि विश्वसँग जोडिएको समाज हो। त्यसले केही अन्तर्राष्ट्रिय संस्कृतिको प्रभाव पर्नु स्वाभाविक कुरा हो। यसले भावनात्मक अभिव्यक्ति र सम्बन्धमा पारदर्शिता बढाउन मद्दत पुर्याउन सक्दछ । यसलाई केवल प्रेमी प्रेमिकामा मात्र सीमित नगरी सबै सम्बन्धको सम्मानको रुपमा लैजान सकियो भने नेपाली परिवेशमा सहजै स्वीकार हुन सक्दछ तर यसलाई अन्धाधुन्ध तथा प्रदर्शनमुखी बनाइयो भने नेपाली समाजले यसलाई पचाउन गाह्रो हुन्छ। एकातिर प्रेम दिवसलाई सकारात्मक दृष्टिले हेर्दा यो प्रेम स्नेह र सम्मान व्यक्त गर्ने अवसरका रुपमा लिन सकिन्छ यसले सम्बन्धलाई अझ मजबुत बनाउन पनि मद्दत गर्दछ ।
प्रेम सशक्तिकरणमा रूपान्तरण
आजको एक्काइसौँ शताब्दीको युगमा प्रेम विभिन्न कारण जस्तै जात,संस्कृति,भाषा तथा भौगोलिक कारणले पनि खुल्ला रुपले स्थान पाएको छैन अर्थात् प्रेममा पर्नेहरू विभिन्न कारणले बाधा अवरोध खेपिरहेको पाउँछौं भने मध्ययुग अर्थात् बाह्रौँ तेह्रौँ शताब्दीमा पक्कै पनि प्रेममा विभिन्न बहानामा कठिनाइ नहोला भन्न सकिँदैन। त्यसैले जसले गर्दा जुन साहसका साथ सेन्ट भ्यालेन्टइनको सम्झनामा प्रेम दिवस भनेर मनाउन थालियो, लाखौं युवा युवतीमा रहेको प्रेमको पोको खुलेर फुकाउन थाले । प्रेम आफैमा शक्ति हो। सफल बन्न सके जीवन फुल्छ फल्छ र सफल बन्न नसके मर्छ र मार्छ पनि चाहे मानसिक होस् या शारीरिक होस् । प्रेम दिवसले केवल प्रेमी र प्रेमिकाको प्रेमको संकेत गर्दैन। यसले पारिवारिक मामिलामा पनि उत्तिकै छोएको पाइन्छ। अघिपछि टकराव हुँदा valentine day आएपछि त्यो दिन त मिल्नुपर्छ भन्ने भावना पनि देखिन थालेको छ। जुनसुकै कुराको नयाँ सुरुवातसँगै यसका सकारात्मक तथा नकारात्मक दुवै पक्ष देखिन्छन् तर यसको सकारात्मक पक्षलाई समातेर अगाडि बढ्दा यसले प्रेम तथा जीवन सफल बनाउँछ । प्रेम दिवस सँगै आत्मीय मन जोडिएका छन् ।व्यक्त गर्न नसकिएका भावनाहरू परिवर्तन भएका छन् र पोखिएका छन् ।बन्न नसकेका सम्बन्ध अगाडि बढेका छन् जसले मूर्त रुप पाएर राष्ट्रिय हैन अन्तर्राष्ट्रिय पर्व जस्तै बनेको छ। प्रणय दिवसमा जहाँ हजारौं प्रेमी प्रेमिकाले आफ्नो मनपर्ने व्यक्तिका लागि प्रेम प्रस्तावका लागि दौडिरहेको देखिन्छ ।
प्रणय दिवस र हाम्रो परिवेश
कुनै पनि देशको असली संस्कृति त्यो देशको लागि अमूल्य सम्पत्ति हुन्छ। तर कतिपय आयातित संस्कृति अगाल्न गाह्रो हुन्छ र जहाँसम्म प्रणय दिवस हाम्रो परम्परामा पश्चिमी आयातित संस्कृति हो।विश्वव्यापीकरणको प्रभावसँगै हाम्रो देश पनि कुनै कुराले अछुतो हुन त अवश्य सक्दैन तर आयातित संस्कृतिलाई कसरी लिने? कति प्रतिशत लिने अर्थात् केही परिष्कृत गर्ने कि भन्ने कुरा स्वयं प्रयोगकर्ताको हातमा हुन्छ। नेपालमा पनि यस दिवसले अलि बढी नकारात्मक प्रभाव परेको देखिन्छ। जे कुरा पनि त्यसलाई सही प्रयोग गरे जीवनलाई सार्थक बनाउँछ। तर यसलाई खेलौनाको रुपमा प्रयोग गर्दा यसले समाजमा ठूला दुर्घटना निम्त्याउँछ। प्रेम दिवसको नाममा कलिलै उमेरमा जबरजस्ती प्रेम प्रस्ताव राख्ने र जोडी बनाउने होडबाजी चलेको छ। १० वर्ष पनि नभएका बालबालिकाले पनि जोडी बनाउन खोज्ने र आफूलाई आफ्नो जोडीको ट्याग लगाउँदा गर्वका अनुभूति गर्ने प्रतिस्पर्धा अचम्मको देखिन्छ। प्रेम दिवसको उपहारको नाममा सकि नसकी महंगा महंगा विलासितका सामानहरू आदानप्रदान गर्ने, होटल जाने, प्रेमका नाममा अनैतिक क्रियाकलापमा लाग्ने तथा अवैधानिक सम्बन्ध राख्ने तथा क्षणिक आनन्दमा मोजमस्ती गर्ने जस्ता विकृतिहरू देखिन्छन्। जसले गर्दा काँचो उमेरमा प्रेममा फस्नेर बीचमा प्रेम असफल भएपछि डिप्रेसनमा जाने, आत्महत्या गर्ने,पारिवारिक तनाव तथा बिछोड हुने जस्ता घटना प्रशस्त देखिन्छन् ।
प्रणय दिवस यस्तो रहोस्।
प्रेम के हो यसको परिभाषा व्यक्ति विशेष का फरक हुन सक्छन् तर प्रेमलाई ठ्याक्कै परिभाषित गर्न गाह्रो होला तर सफल प्रेमले मानिसलाई भौतिक वस्तु तथा संसार‌ भन्दा स्वर्गीय आनन्द पक्कै दिन्छ। जहाँ साँचो र निस्वार्थ प्रेम हुन्छ, त्यहाँ अर्को स्वर्गको अनुभूति हुँदैन होला जुनसुकै पक्षबाट। जहाँ दुई आत्मा एक भएपछ स्वर्णिम सुख आनन्द प्राप्तिसँगै प्रेमलिल जोडीको प्रेम सफल बन्छ र उनीहरूको जीवनमा पैसा, पावर, विलासिता जीवनभन्दा सुख, शान्ति र सन्तोष मिल्छ। अरु सबै कुरा छायामा पर्दछन् ।प्रेमको कुनै वस्तुसँग तुलना गर्न मिल्दैन। यसकारण पनि हरेक जो कोहीको प्रणय दिवसमा नयाँ सम्बन्धले सार्थकता पाओस्। पुराना भत्किन र टुट्न लागेका सम्बन्ध पुन जोडिन सकुन्। यस दिवसलाई भड्किलो नबनाइयोस्। फेसनका रुपमा जसले जसलाई पनि प्रस्ताव नगरियोस् ।करियर बनाउन लागेका युवा युवती सानो कलिलो उमेरमा यो दिवसप्रति आकर्षित नबनुन्। जे कुराको पनि एउटा निश्चित समय हुन्छ। प्रेम दिवसभन्दा सही समयमा करियर र आफ्नो कर्तव्यलाई प्राथमिकता दिइयोस्। प्रणय दिवसलाई मजाकको रुपमा बनाएर जीवन र करियरलाई बर्बाद नबनाइयोस्। जे कुरा गरियो त्यसलाई सामान्य सम्हाल्न र भविष्यको गोरेटो कोर्न सक्ने गरी अगाडि बढाउन सकियोस् । यसले बर्बादी होइन जीवनलाई हरेक कुराको उचाइमा पुर्याउन सफल रहोस् ।

सम्बन्धित समाचार

सबै