मन्त्रालयको कार्य प्रति गुजरा नगरपालिकाद्वारा खेद प्रस्ताव पारित

127 Shares

रौतहट , असार ३ गते । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुजरा नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृत बिहिन बनाइ नगरको बिकास प्रक्रियामा अबरोध पुर्याएको भन्दै मंगलबार बसेको बिशेष नगरसभाले मन्त्रालयको यस कार्य प्रति खेद प्रस्ताव पारित गर्दै प्रमुख प्रशासकीय अधिकृत अबिलम्ब खटाइ दिन अनुरोध गरेको छ ।
रौतहटको गुजरा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा डाक्टर श्रवण कुमार साह हाजिर भएको २४ घण्टा नबित्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेपछि नगरपालिकाले आज मंगलबार बिशेष नगर सभा बोलाएको थियो । प्रमुख प्रशासकीय अधिकृत डाक्टर साह असार १ गते आइतवार गुजरा नगरपालिकामा हाजिर हुनु भएको थियो ।
हाजिर भएर कार्यालयको काम कारबाही तथा आउँदो आर्थिक बर्षको लागि नगर सभाको तयारि सम्बन्धमा गृहकार्य गर्न नपाउंदै सोमबार प्रमुख प्रशासकीय अधिकृत डाक्टर साहलाइ रौतहटकै चन्द्रपुर नगरपालिकामा सरुवा गरिएको छ ।
उप सचिव डाक्टर साहका अनुसार आफुले सरुवा नमागे पनि मन्त्रालयले आर्थिक बर्षको अन्त्यमा आएर एक दिनमा नै सरुवा गरि दिनु दुखद रहेको बताउनु भयो । मन्त्रालयले खटाएको कारण नचाहदा नचाहदै पनि चन्द्रपुर नगरपालिकामा सोमबार नै हाजिर भएको प्रमुख प्रशासकीय अधिकृत डाक्टर साहको प्रतिक्रिया रहेको छ ।
गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल प्रसाद चौधरीका अनुसार मन्त्रालयले रकमी चलखेल गरेर पालिकामा निमित प्रमुख प्रशासकीय अधिकृत खटाउन प्रयास गरिरहेको आरोप लगाउनु भयो ।
नगर प्रमुख चौधरीका अनुसार आफुलाई दरबन्दी अनुसारको उप सचिव नै प्रमुख प्रशासकीय अधिकृत चाहिएकोले मन्त्रालयले आफ्नो दायित्व बिर्सन नहुने बताउनु भयो ।
आर्थिक बर्षको अन्त्यमा नगरपालिकालाइ प्रमुख प्रशासकीय अधिकृत बिहिन बनाइ दिदा कार्यादेश, भुक्तानी तथा नगरसभा प्रभावित भएको नगर प्रमुख चौधरीले गुनासो पोख्नु भयो ।
गुजरा नगरपालिकाका यस अघिका प्रमुख प्रशासकीय अधिकृत मित्र लाल ढकालको मन्त्रालयले जनकपुरधाम उप महानगरपालिकामा सरुवा गरे पछि १ महिना १० दिन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन भएको थियो ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानिय तह कर्मचारी प्रशासन शाखाका उप सचिव भिमकान्त पौडेलका अनुसार उप सचिव डाक्टर साहले शुरुवातमा चन्द्रपुर नगरपालिका नै मांग गरेकोले शुरुमा पठाउन नसके पनि सोमबार खटाएको प्रतिक्रिया दिनु भयो ।

सम्बन्धित समाचार

सबै