लेखा व्यवसायीको चौंथो राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु

143 Shares

काठमाडौँ – ‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नारासहित लेखा व्यवसायीको चौंथो राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ। कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरे र नेपालको लेखा व्यवसायको इतिहासमा प्राप्त अनुभवबाट उपयुक्त निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरे।

अर्थमन्त्री पौडेलले कर प्रणालीको आधुनिकिकरण, कर नीतिहरूमा सुधार, करको दायरा विस्तार र करछली रोक्न सरकारले गम्भीरतासाथ काम गरिरहेको बताए। उनले सार्वजनिक वित्त व्यवस्थापनको सुधारको आवश्यकता औल्याउँदै लेखा व्यवसायीहरूको महत्वपूर्ण भूमिका रहेको बताए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले कर प्रणाली र सार्वजनिक वित्त व्यवस्थापनको सुधारका लागि सम्मेलनले मुख्य औजारको रुपमा काम गर्ने विश्वास व्यक्त गरे। उनले योजना आयोगको बजेट विनियोजनमा पारदर्शिता कायम राख्नका लागि थप सुधारको आवश्यकता रहेको बताए।

आयोजक संस्था आइक्यानका अध्यक्ष सिए प्रविनकुमार झाले सम्मेलनले नेपालको कर प्रणाली सुधार र सार्वजनिक वित्त व्यवस्थापनलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।

नेपाल अडिटर्स एशोसिएसनका वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद भट्टराई, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघका अध्यक्ष अरुण राउत लगायतका प्रमुख वक्ताहरूले आर्थिक अनुशासन कायम राख्न र पारदर्शी कर प्रणालीको विकास आवश्यक रहेको बताएका छन्।

सम्मेलनमा सात वटा सत्रमा विभिन्न विषयमा छलफल हुने कार्यक्रम रहेको छ, जसमा एक हजारभन्दा बढी लेखा व्यवसायीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

सम्बन्धित समाचार

सबै