
काठमाडौं – शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भएको भेटवार्ता चर्काचर्कीमा परिणत भएको छ। वासिङ्टन भ्रमणमा रहेका जेलेन्स्कीले अमेरिकासँग बढ्दो मतभेद अन्त्य गरी सम्बन्ध सुधार गर्ने उद्देश्यले ट्रम्पसँग भेट गरेका थिए। तर, उक्त भेटवार्तामा दुई नेताबीच भनाभन भएपछि सम्बन्ध थप बिग्रिएको छ।
भेटका क्रममा उपराष्ट्रपति जेडी भान्स पनि उपस्थित थिए। रूसले युक्रेनमाथि गरेको आक्रमण र त्यसलाई रोक्न गरिएको प्रयास सराहनीय रहेको भन्दै उपराष्ट्रपति भान्सले त्यसका निम्ति जेलेन्स्कीले धन्यवाद दिनुपर्ने बताएका थिए। त्यसपछि तीनै जनाबीच भनाभन भएको थियो। ट्रम्पले जेलेन्स्कीलाई करोडौं मानिसहरूको जीवनमा खेलवाड गरेको र तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको आरोप लगाए। जेलेन्स्कीले त्यसको खण्डन गरे। द्वीपक्षीय छलफलको भिडियो विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्। छलफलका क्रममा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति भान्सले विभिन्न आरोप लगाएपछि जेलेन्स्कीमा असह्य भाव प्रकट भएको भिडियोमा देखिन्छ।
ट्रम्पले पटक–पटक जेलेन्स्कीलाई ‘ठूलो स्वरमा नबोल्न’ भनेका थिए। दुई राष्ट्र प्रमुखहरूबीचको चर्काचर्कीपछि संयुक्त पत्रकार सम्मेलन पनि स्थगित गरिएको थियो। पत्रकार सम्मेलन स्थगित हुने भनिएपछि ओभल अफिसमा उपस्थित पत्रकारहरू ह्वाइट हाउसबाट बाहिरिएका थिए। त्यसपछि अमेरिकी अधिकारीहरूले जेलेन्स्की र युक्रेनी अधिकारीहरूलाई ह्वाइट हाउस छाड्न निर्देशन दिएको अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले जनाएको छ। ह्वाइट हाउस छाड्न भनिएपछि जेलेन्स्की निराश मुद्रामा ओभल अफिसबाट बाहिरिएका थिए। ह्वाइट हाउसबाट बाहिरिएपछि जेलेन्स्कीले एक्समा लेख्दै ट्रम्प र अमेरिकालाई धन्यवाद दिएका छन्।
ट्रम्प र जेलेन्स्कीबीच ह्वाइट हाउसमा खनिज सम्झौतामा हस्ताक्षर हुने भनिएको थियो। सम्झौताका लागि यसअघि अमेरिकी वित्तमन्त्री स्कट बेसेन्ट र युक्रेनी सहकर्मीहरूले सहमति गरेका थिए। तर, चर्काचर्कीपछि खनिज सम्झौता अन्योलमा परेको छ।
यो घटनाले नेटोका युरोपेली राष्ट्रहरू र अमेरिकाबीच ठूलो संकटको सङ्केत गरिरहेको विश्लेषण हुन थालेको छ। सन् १९४९ मा अमेरिका र नेटो सहयोगी राष्ट्रहरूबीचको पारस्परिक रक्षा प्रतिबद्धतामाथि पनि प्रश्न उठेको छ। नेटो सहयोगी राष्ट्रमाथि हुने कुनै पनि आक्रमणलाई तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानले अमेरिकामाथि आक्रमणसरह मान्ने वाचा गरेका थिए।
यस घटनापछि युक्रेन र अमेरिकाबीचको सम्बन्धमा थप तनाव उत्पन्न भएको छ। दुई देशबीचको खनिज सम्झौता र भविष्यका कूटनीतिक पहलहरूमा यसले गम्भीर प्रभाव पार्न सक्ने देखिन्छ।