
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको तयारी तीव्र पारेको छ। राष्ट्रिय योजना आयोगले झन्डै १९ खर्ब रुपैयाँको सीमा (सिलिङ) तोकेर बजेट तयारी अघि बढाएको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन्।
चालू आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याएको थियो। तर, मध्यावधि समीक्षामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करिब २ खर्ब रुपैयाँ घटाएका छन्।
प्रवक्ता भण्डारीका अनुसार वैदेशिक सहायतामा गिरावट र कमजोर राजस्व सङ्कलनले स्रोत व्यवस्थापनमा चुनौती बढाएको छ। चालू आर्थिक वर्षमा हालसम्म ७ खर्ब ९० अर्ब रुपैयाँ खर्च भइसकेको छ भने सरकार १ खर्ब २२ अर्ब घाटामा छ।
गएको वर्ष मनसुनजन्य विपद्बाट ठूलो क्षति भएका कारण पुनर्निर्माणका लागि ठूलो बजेट छुट्याउनुपर्ने देखिएको छ। साथै, पेन्सन, वृद्धभत्ता, सामाजिक सुरक्षा कार्यक्रम तथा वैदेशिक ऋणको दायित्वले बजेटमा चाप बढाएको छ। सामाजिक सुरक्षामै कुल बजेटको २० प्रतिशत खर्चिनुपर्ने अवस्था रहेको छ।