बिवेकको राजनीति र रुपान्तरण

194 Shares

कार्यकर्ता तथा फलोवर्सहरुले नेताका हरेक झुठलाई आखा चिम्लेर अनुमोदन गर्ने, उसको विरुद्दमा एक शब्द नबोल्ने परिपाटी मौलाउदै जादा पार्टिको आन्तरिक लोकतन्त्रमा धमिरा लाग्दै गयो ।नेतृत्वलाई प्रश्न गर्ने र त्यसको जबाफ खोज्ने पद्दति हराउदै जादा नेपालका विशेष गरि पुराना र मूलधारका राजनीतिक दलहरुप्रति जनताको विकर्षण बढ्दै गयो भने ती दलहरुप्रतिको अपेक्षा सुन्य प्रायको परिस्थिति बन्दै गएको छ ।
कैयौ प्रश्नहरु आम जनमानसका मानसपटलमा उठिरहेकै वेला त्यसको जवाफ दिनु र खोज्नुको सट्टा पुराना दल र दलमा आवद्द जिम्मेवार पदाधिकारीहरु जवाफविहिन बन्दै जानु, कमसेकम गलतलाई गलत र सहीलाई सही भन्न नसक्नु जस्ता प्रवृत्तिले राजनीतिक नेतृत्व असफल, अलोकप्रिय र दिशाविहिन बनेको यथार्थलाई स्वीकार गर्नैपर्छ।
जब प्रश्नहरु हराउदै जान्छन या प्रश्न गर्न निषेध गरिन्छ, लोकतन्त्र जीवित रहन्न । प्रश्न गर्नेको आवाज बन्द गर्नु या प्रश्न सोध्न नपाउनु, प्रश्न सोध्नमा रोक लगाउनु निरंकुशता तर्फको अग्रसरता हो । फरक मतलाई किनारामा पुर्याउने जुन प्रवृत्ति झांगिदै गयो, लोकतन्त्रका लागि सोभनीय थिएन र होइन। अन्तरक्रिया र जायज मुद्दाहरुमा सवाल-जवाफ गर्नु वाक स्वतन्त्रता हो, जुन नागरिकको संविधानत: प्राप्त मौलिक हक हो । अनुयायीहरुमा प्रश्नहिनता हुनु र नेतृत्वमा जवाफविहिनता रहनु राम्रो संकेत थिएन र होइन।
राजनितीक दलभित्र पहिलोपुस्ताका नेता या अगुवाहरुलाई दोस्रो पुस्ताले वा अन्य सदस्यहरुले कम्तिमा आफ्नो विवेकलाई व्यक्तिगत लाभ र निहीत स्वार्थकै लागि मर्न नदिएको भए नेतृत्वलाई सच्चिने नैतिक दवाव पर्थ्यो तर यहा त अझ बढि भ्रष्ट र अराजक बन्ने वाटो तर्फ उत्प्रेरित गराइयो । झुटलाई मौनसमर्थन गर्दै अकर्मण्यताको साक्षी वनेर स्वीकारोक्ती जाहेर गरियो ।
दलगत या व्यक्तिगत क्षणिक स्वार्थमा संकुचित हुँदा बृहत राष्ट्रिय हित ओझेलमा पर्दै गए । राजनीतिक दलहरु आम नागरिककको विश्वास र भरोषाका लायक भएनन् । नागरिक केवल चुनावी गणित बनेर राजनीतिक दलको ग्राफ वढाइदिने र नेतालाई सत्ताको भर्र्याङ वन्ने माध्यमको रुपमा मात्र मिसयुज भए ।
चुनाव जितेर गएपछि आममतदातासमक्ष गरेका वाचाहरु सेलाउदै जान्छन।जनता जब चुनावको व्यालेट वक्सभित्र पुगेपछि वक्सको विर्को वन्द हुन्छ । तब नेताको मतदाताप्रतिको उत्तरदायित्व त्यहि समाप्त हुन्छ ।नयाँ पुस्ताले खोजेको यस्तो पुरातनवादी शोच र विचारले परिचालित शासन होइन ।सहभागिता,इमान्दारीता, समानताको कसिमा सुशासनयुक्तर पारदर्शी शासन खोजेका हुन जनताले । सत्तावाट वायस व्यवहार युक्त शासनको अपेक्षा हुनै सक्दैन र त्यो टिकाउ हुदैन पनि ।

लामो र कष्टकर संघर्षबाट प्राप्त भएको लोकतन्त्रिक शासनप्रणालीमा पनि आमनागरिकमा एक खालको निरासा बढेको बढेकै भयो । नेपालको राजनीति क्रुर र पक्षपाती बन्दै गयो । राजनीतिको ब्लाङकेट ओढेर जे जस्ता अनैतिक कार्यहरु भए पनि संरक्षण गर्ने प्रवृत्ती झांगियो ।जब गलत कामहरु दलीय आडमा अन्देखा गरिन्छ, वचाइन्छ त्यहिबाट अराजक क्रियाकलापलाई थप प्रोत्साहन मिल्दै जान्छ ।

स्वविवेकको प्रयोग गर्ने कि व्यक्तिको पुजा गर्ने हो नेपाली युवा जमातले अब सोच्न ढिला भैसकेको छ। देशमा यति ठूलो विध्वंस भयो । सारा प्रशासनिक तथा ऐतिहासिक धरोहरहरु जले । महत्वपुर्ण दस्तावेजहरु धुवासगै उडे । कैयौ वर्ष पुराना हाम्रा पहिचान वोकेका, महत्व बोकेका कलात्मक बास्तुकला, सर्वोच्च अदालत, संसद भवन, सिंहदरवार लगायतका राष्ट्रका शानहरुलाई आक्रोसको आगोले क्षणभरमै खरानी वनायो ।जसले हाम्रो प्रणाली, संस्कार, कार्यशैली र विद्धमान व्यवस्था प्रति एउटा संगीन र गम्भीर चुनौतिको जन्मायो ।

नयाँ पुस्तालाई प्राथमिकतामा नराखेको, उनीहरुका आवाजलाई दवाइएको, उनिहरुका सामान्य मागहरुशिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन जस्ता विषयहरुलाई वेवास्ता गर्दै भ्रष्टाचार, नातावादर कमिसनतन्त्र लाई पश्रय दिनु जसको नियन्त्रणको लागि आवस्यक पहल नगर्नु , बढ्दो बेरोजगारीले गर्दा युवाहरु विकल्प विहिन रुपमा बैदेशिक रोजगारीमा पराया देशमा पलायन हुनुपर्ने वाध्यात्मक अवस्था लगायतको पृष्ठभूमिमा नै आज नेपालले जे दुर्घटना भोग्नुपर्यो त्यस उपर शंका गर्नु पर्दैन।
मुलुकको राजनीतिमा आउनको लागि कसैको हत्या गर्नुपर्ने, जेल नेलको अनुभव नभएकाले राजनीति गर्ने योग्यता पुग्दैन भन्ने जस्तो भाष्य राजनीतिमा मौलाउदै जानु र युवालाई अनेक हतकण्डा लगाएर हतोत्साही बनाउने शैली जुन नेपालको राजनीतिक नेतृत्वले अवलम्वन गर्यो उक्त विषय नै जेनजि आन्दोलनको लागि आगोमा घ्यूको काम गरेको हो यस विषयमा स्पष्ट हुनु जरुरी छ ।
राजनीतिलाई सेवा होइन शक्ति आर्जनको माध्यम बनाई आफ्नो र नजिकका आसेपासेको स्वार्थपुर्ति गर्ने ध्याउन्नमा राजनीति रुमल्लिइरह्यो । राजनीतिलाई व्यापार जस्तै जीविकोपार्जनको आधार मानेर निजी व्यवसायकारुपमा पुस्तौपुस्ता वंशहस्तान्तरण गर्ने पैत्रिक सम्पत्तिजस्तै पेवा वनाइयो ।जुन प्रवृत्ति कदापि ठीक थिएन ।
राजनीतिमा युवा पुस्ताको चासो, चिन्तन चेतनाका साथ सकृयता जनाउनु लोकतन्त्र सजीव हुनु हो । पछिल्लो समयमा नेपालको राजनीतिमा युवाको चासो र सक्रियता वढ्दै गएको छ यो लोकतन्त्रको सकारात्मक पक्ष हो । यसले लोकतन्त्रलाई रक्तसंचार गर्दै जीवीत वनाँउछ । यो सक्रियतालेमुलुकको राष्टियता, सार्वभौमसत्ता र स्वाधीनताको रक्षार्थ कदापि सम्झौता नगरी राष्ट्रिय स्वाभिमानको लागि दृढतापूर्वक उभिन सकोस् ।
लोकतन्त्रको प्राणवायु राजनीतिक दलहरु नै हुन् ।दलहरुमा वैचारिक स्पष्टता नहुनु, युवातथा महिलाको नेतृत्वलाई प्राथमिकतामा नराख्नु, युवापुस्तालाई नेतृत्वमा विश्वास नगरिनु लगायतका यावत विषयहरुले राजनीतिक दलहरुको आन्तरिकर अन्तरपार्टी लोकतन्त्र कमजोर हुनगयो । यीनैं विषयहरुमा रुपान्तरणले लोकतन्त्रलाई दिर्घजिबी बनाउने हो ।
त्यसैले दलभित्रको आन्तरिक लोकतन्त्रिक संस्कार, कार्यशैलि, व्यवहारमा सुधार गरी सुशासन, पारदर्शिता, जवाफदेहिता, निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताको सुनिश्चितता गरिनुपर्छ । पाकाहरुले आफूभन्दा वाहेकलाई अक्षम देख्ने मानसिकता बदल्नुपर्छ ।युवाहरुलाई राजनीतिमा अघोषित प्रतिवन्ध लगाई निषेध गर्दा देश दुर्घटनामा पर्यो ।जेन जी विद्रोह पुराना दलको उत्तरविहिनता र नागरिकसँगको संवादहिनताको परिणती हो भन्नेमा दुविधा छैन ।अवको समय सच्चिएर जाने समय हो । यस अप्ठ्यारो समयले दिएका चुनौतिहरुलाई अवसरको रुपमा ग्रहण गरेर पुराना दलहरुले पनि आफूलाई रुपान्तरणगर्नै पर्छ । होइन भने समय रोकिएर रहदैन ।

अरुका कमजोरीहरु ‌औल्याउनेहरुले आफूमा भएका कमजोरी पनि देख्नसक्नुपर्छ । सच्चिने मौका आउदा सच्चिनु पर्छ ।आफै सर्वेसर्वा र सो वाहेक अन्य सबै खराब देख्ने दृष्टिदोशी मनोवृत्ति त्यागेर कमसेकम यो मुलुकलाई कसैको प्रयोशाला नवनाउँ ।

आफूलाई पपुलर देख्नेहरुले अरु पपुलर तथा लोकप्रिय हुँदा भाइरल र पपुलिस्ट भन्ने नेगटिभ भाष्य सृजना नगरौं । जो कोहि पनि कुनै समयमा पपुलर तथा लोकप्रिय भएर नै नेतृत्वमा पुग्ने हो तर त्यो लोकप्रियता कति समयसम्म टिकाउ हुन्छ भन्ने कुरा समय परिस्थितिर सम्वन्धित नेतृत्वको वैयक्तिक क्षमता एवं दीर्घकालीन सोँच र जनमानसमा परेको छविमा भर पर्ने कुरो हो ।
लोकतन्त्रमा समभाव र समन्यायको भावना राख्नुपर्छ । फरक विचार र फरक शक्तिको स्थानले पनि अर्थ र महत्व राख्छ । चरम सामन्ती सोंचयुक्त दास मानसिकता न त पार्टिको हितमा छ न त मुलुकको समृद्दिका पक्षमा हुन्छ । यो कतै पनि सह्य हुँदैन । आफूभन्दा फरक विचार राख्ने दल र नेताहरुलाई देशद्रोही, सिद्दान्तविहिन, असंगठित समुह, राष्ट्रघाती,परिचालीत जमात लगायतका आधार विहिन लाल्छना लगाएर हतोत्साहीत गर्ने जुनसुकैराजनीतिक दल र नेतृत्वको शैली गलत छ ।

अहिले रुपान्तरणको नारा उठिरहदा केवल सत्तालागि मात्र रुपान्तरणको लडाई नबनोस् । हामी कृषि प्रधान देशका नागरिक हौ भन्ने हेक्का राखौं । यस क्षेत्रलाई सर्वप्रथम रुपान्तरण गरौं ।कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण, ‍औद्योगीकरण गर्दै कृषि प्रणालीलाई भ्यालु चेनमा आवद्द गरी आत्म निर्भर बन्नेतर्फ रुपान्तरित हुन जरुरी छ ।
शिक्षा र स्वास्थ क्षेत्रलाई रुपान्तरण गरी अनिवार्य, निशुल्क, सर्वशुलभबनाउँ । रोजगारीका अवसरहरु देशभित्रै खोजौं । बैदेशिक रोजगारीलाई मर्यानदित व्यवस्थित बनाउँ ।
देशमा सधैंको नीतिगत अस्थिरताका कारण साना तथा मझौला उद्योगीहरुले व्यवसाय संचालन गर्ने वातावरण विग्रिदै गयो । जसका कारण लगानी योग्य रकम बैंकमा थुप्रिदा ब्याजदर संकुचन हुदै गयो । जसको नकारात्मक असर हाम्रो अर्थतन्त्रमा परिरहेको छ । नेपल न्यून लगानी न्यून रोजगारी न्यून आय न्यून उत्पादनको भिसियस स्केलमा पर्यो ।अव यो दुस्चक्रलाई सूचक्रमा रुपान्तरण गर्नतर्फ सोच पर्याउँ ।
प्रशासन प्रणालीलाई क्यासलेस पेपरलेस फेसलेस बनाई सम्पूर्ण रुपले डिजिटलाइज गरी सुशासनयुक्त भ्रष्टाचारमुक्त तुल्याउँ । हाम्रो उपब्ध प्राकृतिक स्रोत जल जमिन जंगल जनशक्ति जडिबुटिको महत्तम उपयोग गर्दै हाम्रो प्रकृतिलाई पर्यटनसंग जोड्ने विषयमा रुपान्तरण खोजौं ।
रुपान्तरणका नाममा पुराना दल, नेतृत्व तथा ऐतिहासिक दस्तावेजहरुको अस्तित्वलाई निमिट्यान्न पारेर होइन उनीहरुको बलिदानीपूर्ण संघर्ष एवम् सत्ता संचालनको लामो अनुभवको कदर गर्दै र युवापुस्ताको देश वनाउने हुटहुटी, उर्जा, जोशजागर र प्रविधियुक्त ज्ञानको कुशल संयोजनवाट नै अब मुलुकले खोजेको परिवर्तन संभव छ ।
ईति ।

(शर्मा आन्तरिक राजश्व बिभागमा लेखापाल पदमा कार्यरत छिन्)

 

सम्बन्धित समाचार

सबै