नयाँ वर्ष २०८२ : सूर्यको मेष राशिमा प्रवेशसँगै देशभर उल्लासपूर्वक मनाइँदै

24 Shares

काठमाडौं । आज वैशाख १ गते, विक्रम संवत् २०८२ सालको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासपूर्वक नयाँ वर्ष मनाइँदैछ।

सूर्यले मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने दिन भएकाले आजको दिनलाई वैशाख संक्रान्ति वा मेष संक्रान्ति पनि भनिन्छ। यही दिनबाट विक्रम संवत् २०८२ औं वर्ष आरम्भ हुने भएकोले यसको धार्मिक, खगोलशास्त्रीय र सांस्कृतिक महत्त्व रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराईले बताएका छन्।

उनका अनुसार विक्रम संवत् सूर्यको गतिमा आधारित संवत् हो र यसमा सौरमान र चान्द्रमान दुवैको समन्वय गरिएको छ। “विक्रम संवत् वैज्ञानिक हिसाबले पनि महत्वपूर्ण छ, किनभने सूर्य मेष राशिमा प्रवेश गरेपछि नयाँ संवत्सर सुरु हुन्छ,” भट्टराई भन्छन्।

विक्रम संवत् कलि युग सुरु भएको ३,०४४ वर्षपछि सुरु भएको मानिन्छ। आजको दिन मानिसहरूले विगत वर्षको मूल्याङ्कन गर्दै नयाँ संकल्प गर्ने प्रचलन पनि रहेको छ। बिहानै नुहाएर, घर-आँगन सफा गर्ने, मठमन्दिरमा गई पूजा गर्ने, मीठो खाना खाने र आफन्तजन, साथीसँगीसँग शुभकामना साटासाट गर्ने परम्परा छ।

विश्वभर रहेका नेपालीहरूले आजको दिनलाई नयाँ वर्षको रूपमा मनाउने गरेका छन्। यस अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संस्था र शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिइएको छ।

यता चान्द्रमान अनुसारको नयाँ संवत्सर भने चैत १७ गतेदेखि नै सुरु भइसकेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार हाल सुरु भएको संवत्सर ‘सिद्धार्थी’ ६० संवत्सरमध्ये ५३औं हो, जुन आदि-अनादिकालदेखि पालैपालो चल्दै आएका छन्।

सम्बन्धित समाचार

सबै