काठमाडौं । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सरकारले आफूलाई घरमै नजरबन्दमा राखेको दाबी गरेका छन् । चैत १५ गते तीनकुनेमा भएको दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनपछि उनी घरबाट बाहिर निस्कन नसकेको बताएका छन् ।
सुवेदी भन्छन्, “सरकारले मलाई घरमै नजरबन्दमा राखेको छ, बाहिर निस्कन दिँदैन ।” तर काठमाडौं प्रहरी प्रमुख विश्व अधिकारीले भने सुवेदीलाई नजरबन्दमा नराखिएको दाबी गरेका छन् । “हामीले नजरबन्दमा राखेका छैनौँ, उहाँलाई भेट्न कसैलाई अवरोध गरिएको छैन,” उनले भने ।
यद्यपि सुवेदीको निवासबाहिर सुरक्षाकर्मी परिचालित छन् र आगन्तुकबाट परिचय मागिने गरिएको छ । आइतबार बाह्रखरी संवाददाता सुवेदीको निवास पुगेका बेला उनी एक्लै थिए । उनलाई भेट्न केही समयमै सहसंयोजक जगमान गुरुङ, पूर्वमन्त्री हरिबहादुर बस्नेतलगायत पुगेका थिए ।
सुवेदीले तीनकुने घटनामा मिडियाले साथ नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले घटनाबारे सत्य तथ्य बाहिर नआएको दाबी गर्दै न्यायिक आयोगको मागसमेत गरेका छन् ।
उनले पत्रकार सुरेश रजकको मृत्युबारे पनि प्रश्न उठाउँदै, “एकजना पत्रकार मरे, कसले मार्यो ? त्यो चाहिँ भन्न सक्दिनँ, तर त्यो घटनाको पनि छानबिन हुनुपर्छ,” भने ।
तीनकुने घटनापछि उनी अशक्त भएको र प्रहरी आएर राति फोटो खिचेर गएको अनुभव सुनाउँदै भने, “त्यस रातपछि मलाई बाहिर निस्कन दिइएको छैन ।”
राजसंस्था पुनःस्थापनाबारे प्रश्न गर्दा सुवेदीले भने, “राजसंस्था फर्किएन भने देश रहँदैन । भूराजनीतिक अवस्था हेर्दा देश संकटमा छ ।”
उनको भनाइमा देशको अस्तित्व संकटमा परेको र संविधानभन्दा माथि राष्ट्रिय अस्तित्वको प्रश्न उठेको छ ।







