काठमाडौं । नेपाल प्रहरीका बहालवाला, अवकाशप्राप्त, अमर/शहीद तथा अशक्त कर्मचारीले अब राष्ट्रिय वाणिज्य बैंकबाट थप कर्जा तथा बिमा सुविधा पाउने भएका छन् । आइतबार नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच सो सम्बन्धी नयाँ समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
नयाँ सम्झौताअनुसार प्रहरी कर्मचारीहरूले पेशाकर्मी सरल कर्जामा १.७५ प्रतिशत, घर कर्जामा १ प्रतिशत, गाडी कर्जामा २ प्रतिशत र शैक्षिक कर्जामा १ प्रतिशत प्रिमियम ब्याजदरमा सुविधा पाउने छन् । दुई वर्षसम्म ५ लाख रुपैयाँसम्मको घर कर्जा र ७ वर्षसम्मको गाडी कर्जा पाउने व्यवस्था गरिएको छ ।
त्यस्तै, वार्षिक दुर्घटनामा मृत्यु वा पूर्ण अपाङ्गता भएमा ५ लाख रुपैयाँसम्मको बिमा गरिनेछ । सो बिमाका लागि प्रतिव्यक्ति १ सय रुपैयाँ शुल्क लाग्नेछ । उपचार खर्चको क्षतिपूर्ति समेत बिमाबाट दिइनेछ ।
सेवानिवृत्त प्रहरी कर्मचारीलाई तीनपाङ्ग्रे अटो रिक्साको खरिद तथा सञ्चालनका लागि पेन्सन रकमको आधारमा अधिकतम ५ लाख रुपैयाँसम्म कर्जा सुविधा प्रदान गरिनेछ । उक्त कर्जा अधिकतम ५ वर्ष वा ६ किस्तामा तिर्नुपर्नेछ ।
नेपाल प्रहरी परिवार, शहीद तथा अशक्त प्रहरीका आश्रितहरूले कृषि, पशुपालन तथा साना मझौला व्यवसायका लागि बैंकको कर्जा कार्यविधिअनुसार ऋण सुविधा पाउनेछन् । त्यस्तै, घर, एसएमई तथा कृषि कर्जाका लागि अचल सम्पत्ति धितो राख्नु पर्ने व्यवस्था गरिएको छ ।
उक्त सुविधा पाउनका लागि पेन्सन भुक्तानी राष्ट्रिय वाणिज्य बैंकको खातामार्फत लिनुपर्नेछ । समझदारी २०८२ वैशाख १ गतेबाट लागू हुनेछ ।
सो समझदारीपत्रमा प्रहरी महानिरीक्षक दिपक थापा र बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र रमण खनालले हस्ताक्षर गरेका थिए । कार्यक्रममा बोल्दै थापाले यो सम्झौताबाट प्रहरी कर्मचारीहरूलाई थप हौसला मिल्ने र सेवा जिम्मेवारी निर्वाहमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।






