
काठमाडौं । आर्थिक वर्ष २०८१ साल स्वास्थ्य क्षेत्रका लागि उपलब्धिपूर्ण त भए पनि विवाद, पूर्वाधार क्षति र वैदेशिक सहयोग कटौतीले चुनौतीपूर्ण रह्यो ।
यस वर्ष पाठेघरको मुखको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई एचपिभी खोप लगाइएको, स्तन क्यान्सरको वंशानुगत परीक्षणको सुरुवात, पक्षघात र जलन पीडितलाई निःशुल्क औषधि तथा उपचारको व्यवस्था र नेपाल औषधि लिमिटेडले जिएमपी प्रमाणपत्र प्राप्त गर्नु मुख्य उपलब्धिहरूमा परे ।
तर, वैदेशिक सहायता कटौतीले विशेष गरी विकट क्षेत्रका महिला र बालबालिकाको स्वास्थ्य सेवामा प्रभाव परेको छ । युएसएआइडीको सहयोग रोकिँदा पोषण, खोप र प्रजनन स्वास्थ्यका कार्यक्रम प्रभावित भएका छन् ।
स्वास्थ्य बीमा प्रणाली सुधारका लागि प्रतिवेदन सार्वजनिक भएसँगै यस क्षेत्रमा सुधारको अपेक्षा गरिएको छ । कार्यदलले प्रिमियम तथा सहभुक्तानी व्यवस्थामा सुधार, सुविधा थैली पाँच लाख पुर्याउने लगायतका सुझाव दिएको छ ।
यसैबीच, चैत १५ मा पूर्वराजा समर्थकको आन्दोलनमा आगजनीका कारण जडीबुटी कम्पनीमा ठूलो क्षति भयो, जसले औषधि उत्पादनमा प्रभाव पार्यो ।
स्वास्थ्य मन्त्रालय ‘अर्धवार्षिक प्रगति मूल्याङ्कन’मा दोस्रो स्थानमा आउन सफल रहँदा मन्त्रालयको कार्यदक्षता पनि देखिएको छ । तर, जनशक्ति पलायन, स्वास्थ्य बीमा लागू नहुनु, बजेट सीमितता, आवासीय चिकित्सकको आन्दोलन, रोकथामभन्दा उपचारमा बढी खर्च, र तीन सय ९६ अस्पताल निर्माणमा ढिलाइजस्ता समस्याले क्षेत्रलाई अझै पनि असहज बनाएको छ ।
जनस्वास्थ्यविद्हरूले उपचारभन्दा रोकथाममा केन्द्रित नीतिको खाँचो औंल्याएका छन् भने मन्त्री प्रदीप पौडेलको सक्रियता सकारात्मक रूपमा हेरिएको छ । अब, दीर्घकालीन सुधारका लागि नीति, योजना र लगानीमा स्पष्टता र प्रतिबद्धता आवश्यक देखिएको छ ।