विद्यालय शिक्षा ऐनको मागसहित शिक्षकको प्रदर्शन ११ औं दिनमा, आन्दोलन आमहड्तालमा परिणत

243 Shares

काठमाडौं — विद्यालय शिक्षा ऐनको माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको आन्दोलन शनिबार ११ औं दिनमा प्रवेश गरेको छ। चैत २० गतेदेखि माइतीघर–बबरमहल क्षेत्रमा जारी आन्दोलनले आमहड्तालको रूप लिएको छ।

शिक्षक महासंघले विगतमा सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै संसदको अधिवेशन बोलाउने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेशमार्फत ऐन जारी गर्न सरकारलाई आग्रह गर्दै आएको छ। माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने शिक्षकहरूको अडान छ।

शिक्षा मन्त्रालय र महासंघबीच केही चरणमा वार्ता भए पनि सहमति हुन सकेको छैन। शिक्षकहरूले आन्दोलन व्यक्तिगत लाभ नभई समग्र शिक्षामा सुधारका लागि भएको दाबी गर्दै आएका छन्। प्रदर्शनमा सहभागी शिक्षकहरूले “शिक्षा ऐन जारी गर”, “सम्झौता कार्यान्वयन गर”, “शिक्षक पेसालाई सम्मान गर” जस्ता नारा लगाएका छन्।

आन्दोलन आइतबारदेखि आमहड्तालमा परिणत भएको छ। यसअन्तर्गत शिक्षकहरूले उत्तरपुस्तिका परीक्षण, तालिम, सेमिनार, भ्रमण लगायत कुनै पनि अतिरिक्त क्रियाकलापमा सहभागी नहुने निर्णय गरेका छन्। यता प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय शिक्षा ऐन चाँडै ल्याउने तयारीमा सरकार रहेको बताउँदै शिक्षकहरूलाई आन्दोलन रोक्न आग्रह गरेका छन्।

सम्बन्धित समाचार

सबै