
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा ऐतिहासिक र सुखद रह्यो । ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम (बक्स अफिस)’ मा दर्ज गरिएको विवरणअनुसार, यस वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले मात्र ४६ करोड ८० लाख (ग्रस) व्यापार गरेसँगै वर्ष २०८१ नेपाली सिने इतिहासमा विशेष बनेको छ ।
वर्षको अन्त्यतिर ‘पिताम्बर’ र ‘कर्मा’ जस्ता चलचित्र प्रदर्शनमा आएसँगै कुल ६२ वटा नेपाली चलचित्रहरू प्रदर्शन भए भने ८४ वटा विदेशी चलचित्र प्रदर्शन भए । नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार यस वर्ष नेपाली चलचित्रप्रति दर्शकको आकर्षण उल्लेखनीय रूपमा बढेको छ । विशेषगरी दसैँ–तिहारको समयमा पारिवारिक कथावस्तु बोकेका चलचित्रहरूले दर्शक तान्न सफल भएको बताइएको छ ।
चलचित्र भवन सञ्चालकहरूले दैनिक १८ घण्टासम्म काम गर्नुपरेको बताउँदै महर्जनले यो वर्षको सफलताले आगामी वर्ष चलचित्र निर्माणमा थप ऊर्जा दिने अपेक्षा व्यक्त गरे । निर्देशक पुर्नेन्दु झाले पनि आउँदो वर्ष २०८२ लाई नेपाली चलचित्रका लागि निर्णायक मानिरहेका छन् । उनका अनुसार, पुराना र नयाँ दुवै पुस्ताका कलाकार तथा निर्माण टोलीहरू सक्रिय बन्दैछन्, जसले गर्दा आगामी वर्ष ८० हाराहारीमा चलचित्र प्रदर्शन हुने अनुमान गरिएको छ ।
बक्सअफिसको तथ्याङ्कअनुसार ५९ नेपाली चलचित्रले कूल एक अर्ब ८० करोड रुपैयाँ व्यापार गरेका छन् भने तीन अन्य चलचित्रको व्यापारसमेत जोड्दा समग्र नेपाली बजारको आकार करिब एक अर्ब ८५ करोड रुपैयाँ पुगेको चलचित्रकर्मीको अनुमान छ ।
यसरी हेर्दा, वर्ष २०८१ ले नेपाली सिने उद्योगलाई नयाँ ऊर्जा र सम्भावनाको ढोका खोलिदिएको छ ।