म्याग्दीमा १२ जलविद्युत् आयोजना निर्माणाधीन, ४५६ मेगावाट विद्युत् थपिने तयारी

297 Shares

म्याग्दी — कालीगण्डकी, म्याग्दी, राहुघाट र निलगिरि खोलामा १२ वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । यी आयोजना सम्पन्न भएपछि केन्द्रीय प्रसारण लाइनमा कुल ४५६.५ मेगावाट विद्युत् थपिनेछ ।

पछिल्लो पाँच वर्षमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाबाट ४ वटा आयोजनाले १११ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेका छन् । अहिले निर्माणाधीन आयोजनामध्ये केही यसै आर्थिक वर्षभित्र र केही आगामी वर्षमा केन्द्रीय ग्रिडमा जोडिने तयारीमा छन् ।

निलगिरि पहिलो (४०.७ मेगावाट), मङ्गले राहुघाट (३७.५ मेगावाट) र रेलेखोला (६ मेगावाट) आयोजना अन्तिम चरणमा छन् । यसअघि निलगिरि दोस्रो (७१ मेगावाट), मिस्त्रीखोला (४२ मेगावाट), घारखोला (१४ मेगावाट) र घलेम्दीखोला (५ मेगावाट) आयोजना उत्पादनमा आइसकेका छन् । अन्नपूर्णमा मध्यकालीगण्डकी (६६.५ मेगावाट) आयोजना निर्माण सुरु भइसकेको छ भने कालीगण्डकी जलविद्युत् आयोजना (१८० मेगावाट) निर्माण तयारीमा छ, जसको अनुमानित लागत ३९ अर्ब ५० करोड रुपैयाँ छ ।

रघुगङ्गा खोलामा राहुघाट (४० मेगावाट), माथिल्लो राहुघाट (४८.५ मेगावाट), ठूलोखोला (२१.३ मेगावाट) र ठूलोखोला माथिल्लो ‘ए’ (२२.५ मेगावाट) आयोजनाहरू निर्माणको अन्तिम चरणमा छन् ।

म्याग्दीखोला क्षेत्रमा दरबाङ म्याग्दीखोला (२५ मेगावाट), अपर म्याग्दी–१ (५३ मेगावाट), अपर म्याग्दी (३७ मेगावाट) टनेल निर्माणको काममा छन् भने म्याग्दीखोला आयोजना (५७ मेगावाट) पहुँचमार्ग निर्माणको चरणमा छ ।

कालीगण्डकी नदीको ३७ किलोमिटर खण्डमा १८० मेगावाटको कालीगण्डकी गर्ज, ६६.५ मेगावाटको मध्यकालीगण्डकी, ५८ मेगावाटको तिप्ल्याङ कालीगण्डकी, ६५ मेगावाटको अपरकालीगण्डकी, र ५०.५३ मेगावाटको बेनी कालीगण्डकी आयोजना विद्युत् विकास विभागसँग खरिद सम्झौता गरी निर्माण प्रक्रियामा छन् ।

यी आयोजनाहरूलाई केन्द्रीय ग्रिडमा जोड्न २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन बनिसकेको छ भने डाँडाखेत–राहुघाट १३२ केभी प्रसारण लाइन निर्माणाधीन अवस्थामा छ ।
गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीका अनुसार प्रसारण लाइनको प्रगतिको कारण आयोजनाहरूले गति लिन थालेका छन् ।

सम्बन्धित समाचार

सबै