
काठमाण्डौ – काठमाण्डौसहित देशका विभिन्न ठाउँमा हिजोदेखि परेको पानीले प्रदूषण घटाएको छ । हिजो अस्तिको तुलनामा वायु प्रदूषण निकै कम भएको छ ।
हावाहुरीसँगै परेको पानीले वायुमण्डलमा धेरै दिनदेखि थुप्रिएको घातक प्रदूषण घटाउन सहयोग पुगेको मौसमविद्ले बताएका छन् ।
वायुको गुणस्तर मापन गर्ने एअर क्वालिटी इन्डेक्सका अनुसार अहिले काठमाण्डौको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ११२ रहेको छ । आज बिहान एक्यूआई १९० भन्दा माथि थियो । लामो समयसम्म वर्षा नहुँदा काठमाण्डौको एक्यूआई झन्डै ३ सयभन्दा माथि पुगेको थियो ।
एक्यूआई शून्यदेखि ५० सम्म राम्रो, ५१ देखि एक सयसम्मको एक्यूआईलाई सचेत हुनुपर्ने, १०१ देखि १५० सम्मलाई अस्वस्थ, १५१ देखि २०० सम्मको एक्यूआईलाई झन् अस्वस्थ, २०१ देखि ३०० लाई धेरै अस्वस्थ र ३०१ देखि माथिको एक्यूआईलाई खतरनाक मानिन्छ ।
काठमाण्डौ उपत्यकामा बिहान परेको पानीले प्रदूषण घटाएको हो । बिहानसम्म काठमाण्डौ विश्वकै प्रदूषित शहरको पहिलो सूचीमा परेकोमा अहिले १४औं नम्बरमा झरेको छ । प्रदूषणसँगै तुवाँलो पनि हट्दै जाने मौसमविदले बताएका छन् ।
आज र भोलि देशका धेरै ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हिमाली भेगमा हिमपातको पनि सम्भावना छ ।