पाथीभरामा केबुलकार निर्माण विवाद: सांसदहरूले सरकारको ध्यानाकर्षण गरे

52 Shares

काठमाण्डाै – ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणको विषयलाई लिएर सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले केबुलकार निर्माणका कारण भइरहेको अशान्तिको बारेमा सरकारसँग स्पष्टिकरण माग गरेका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले व्यापारिक स्वार्थका लागि भाइ-भाइ जुधाउने काम भइरहेको आरोप लगाउँदै सरकारलाई यस्तो नगर्न आग्रह गरे। उनले वार्तामार्फत समस्या समाधान गर्नुपर्ने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाथीभरामा केबुलकार निर्माण कार्य रोक्न माग गरेको छ। रास्वपाकी सांसद तोसिमा कार्कीले आकस्मिक समयमा यस्तो माग राखेकी हुन्।

नेकपा एमालेका सचिव योगेश भट्टराईले केबुलकार निर्माणको विवाद समाधान गर्नुपर्ने बताए। उनका अनुसार, केबुलकार निर्माणको विषय बहसको कुरा हुन सक्छ, तर ऐनअनुसार पाथीभरामा निजी क्षेत्रलाई अनुमति दिइएको तथ्यलाई पनि नजरअंदाज गर्नु हुँदैन।

यसैबीच, नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले केबुलकार विवाद समाधान गर्न मन्त्रिस्तरीय वार्ता समिति गठन गर्न माग गरेको छ। समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङले विज्ञप्ति जारी गर्दै सरकारलाई वार्ता र संवादका माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन्।

पाथीभरामा केबुलकार निर्माणको विवाद चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज बिहानदेखि निषेधाज्ञा जारी गरेको छ। हिजो बेलुका फुङ्लिङ बजारमा नो केबलकार पक्ष र प्रहरीबीच झडप भएको थियो।

सम्बन्धित समाचार

सबै