डेढ हप्ता देखिको प्रदूषणले काठमाडौं श्वास फेर्नै गाह्रो शहरमा

286 Shares

काठमाडौं — डेढ हप्तादेखि काठमाडौंको वायु गुणस्तर अत्यन्तै खराब बनेको छ। आज पनि काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहरको पहिलो स्थानमा परेको छ। वातावरणविद्हरूका अनुसार विभिन्न स्थानमा फैलिएको डढेलो, सडक निर्माणको धुलो–धुवाँ, कृषि अवशेष जलाउने काम र सवारी तथा कलकारखानाबाट निस्किने धुवाँले वायु प्रदूषण चुलिएको हो।

वातावरण प्रदूषित बन्दै जाँदा सरकारले यसलाई नियन्त्रण गर्न हालसम्म कुनै प्रभावकारी योजना अघि सारेको छैन। वातावरणसम्बन्धी संघसंस्था र विज्ञहरूले तत्काल समाधानका उपायहरू कार्यान्वयन गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्।

नेपाल वातावरण पत्रकार समूह र ग्रामीणमुखी युवा अभियान नेपालद्वारा आयोजित कार्यक्रममा सहभागी विज्ञहरूले प्रदूषण रोक्न सरकारी तथा गैरसरकारी निकायबीच सहकार्य र समन्वयको खाँचो रहेको बताए।

हरेक वर्षको सुक्खायाममा वन डढेलो र अवशेष जलाउने कार्यले प्रदूषण बढ्ने स्थायी समस्या रहेपनि, गम्भीर स्थिति भएपछि मात्र समाधान खोज्ने चलन व्यावहारिक नभएको उनीहरूको भनाइ थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वायु प्रदूषण बढेसँगै देशभर श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीको सङ्ख्या बढेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार प्रदूषणका कारण हरेक वर्ष हुने कुल मृत्युमध्ये १९ प्रतिशत श्वासप्रश्वाससँग सम्बन्धित रोगबाट हुने गर्छ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सम्बन्धित निकायहरूबीच दोषारोपण गर्नुको सट्टा आ–आफ्नो जिम्मेवारीप्रति अनुशासित हुनुपर्नेमा जोड दिए। उनले विभागले उद्योग र कलकारखानाको अनुगमन गरिरहेको र गाडी प्रदूषण परीक्षण पनि नियमित रूपमा भइरहेको जानकारी दिए।

सम्बन्धित समाचार

सबै