बागलुङ । बागलुङको दोस्रो ठूलो व्यापारिक केन्द्र बुर्तिबाङ बजार पछिल्लो समय पर्यटन र व्यापार दुबै हिसाबले चलायमान बन्दै गएको छ। अन्य स्थानका व्यापारिक सटरहरू खाली हुँदै गर्दा बुर्तिबाङ भने नयाँ सहरका रूपमा फस्टिँदै गएको छ।
सरकारले देशका १० नमूना सहरमध्ये एकका रूपमा सूचीकृत गरेको बुर्तिबाङ ढोरपाटन नगरपालिकाको केन्द्र हो। यो बजार निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका प्रमुख सहरका रूपमा पनि विकास भएको छ। स्वास्थ्य, किनमेल, प्रशासनिक सेवा तथा सरकारी कार्यालयहरू यही बजारमा रहेकोले यहाँको चहलपहल बढ्दो छ।
नेपालकै एकमात्र सिकार आरक्ष ढोरपाटन जान चाहने पर्यटकहरूका लागि प्रमुख गन्तव्यको रूपमा रहेको बुर्तिबाङ होटल व्यवसायको केन्द्र बन्दैछ। आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमनसँगै होटल व्यवसायमा लगानी बढ्दै गएको छ। मध्यपहाडी पुष्पलाल लोकमार्गमार्फत रुकुमतर्फबाट समेत पर्यटक आउन थालेका छन्।
होटल व्यवसायी जीतबहादुर भट्टचनका अनुसार, पर्यटकीय याममा यहाँका होटल भरिने गर्छन्। सुविधासम्पन्न होटलहरूको संख्या बढ्दो छ र आन्तरिक पर्यटकको चापले व्यवसायमा उत्साह थपिएको छ।
बजारलाई थप व्यवस्थित बनाउन ५० शैयाको प्रदेशस्तरीय अस्पताल, सामुदायिक क्याम्पसलगायत पूर्वाधार विस्तार हुँदै छन्। सडक कालोपत्र भएपछि यहाँको बजारले अझै गति लिएको छ।
ढोरपाटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष ढालेन्द्र छन्त्यालले मध्यपहाडी लोकमार्ग र ढोरपाटन सिकार आरक्षका कारण बुर्तिबाङ गुल्जार बनेको बताए। काठमाडौँ हुँदै राराताल जान चाहने पर्यटकहरू समेत यो मार्ग प्रयोग गर्न थालेका छन्। ढोरपाटन उपत्यकामा सुविधासम्पन्न होटलको अभाव र रुकुमपूर्वको दूरीका कारण पर्यटकहरू एक रात बुर्तिबाङमै बिताउने गरेका छन्।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको ढोरपाटन–सालझण्डी सडक कालोपत्र भएसँगै यहाँको पर्यटन अझै फस्टाउने स्थानीयको विश्वास छ। नयाँ सहरको रुपमा बुर्तिबाङले लिएको गति संभावनायुक्त छ र समग्र क्षेत्रको समृद्धिमा योगदान दिनसक्ने देखिएको छ।