घिसिङको भनाइ: “पदबाट बिदा, जिम्मेवारीबाट होइन”

43 Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेविप्र) को कार्यकारी निर्देशक पदबाट बर्खास्तीपछि कुलमान घिसिङले पहिलो पटक शुक्रबार सार्वजनिक रूपमा आफ्ना धारणा राखेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो कार्यकालका उपलब्धिहरू, बर्खास्तीका कारण र भावी योजना बारेमा खुलाएका हुन् ।

घिसिङले आफूलाई पदबाट हटाउनुको मूल कारण प्राधिकरणको बक्यौता रकम असुलीको प्रयास रहेको दाबी गरे । उनका अनुसार, उनले चारपटकसम्म लाइन काट्ने तथा अन्य उपाय अपनाएर बक्यौता असुली गर्न खोज्दा उच्च तहबाट अवरोध भयो । विशेषगरी, २०८१ चैत ११ गते विद्युत् नियमन आयोगलाई बक्यौता असुलीका लागि पत्राचार गरेकै कारण आफूलाई हटाइएको आरोप उनले लगाए ।

पत्रकार सम्मेलनमा घिसिङले घुमाउरो भाषामा राजनीतिमा प्रवेशको संकेत पनि दिए । सञ्चारकर्मीको प्रश्नमा उनले भने, “एउटा जिम्मेवार नागरिकको हैसियतले कुनै पनि जिम्मेवारी लिन म तयार छु ।” तर, प्रत्यक्ष रूपमा राजनीतिमा आउने वा नआउने भन्ने कुरा भने खुलाएनन् ।

प्रेसमाझ आफ्नो धारणा राख्दै उनले भने, “मेरो प्रतिबद्धता सधैं जनताको सेवा प्रति समर्पित रहनेछ । राष्ट्र निर्माणमा जहाँ मेरो आवश्यकता पर्छ, त्यहाँ योगदान दिन म सदैव तयार छु ।”

घिसिङले कार्यकारी निर्देशकबाट हटाइए पनि आफूले कहिल्यै पनि जिम्मेवारीबाट पछि नहट्ने स्पष्ट पारे । “कतिपय व्यक्तिहरूले मलाई हटाउनु सफलताको रुपमा देखे होलान्, तर म केवल कार्यकारी निर्देशक पदबाट बिदा भएको हुँ,” उनले भने, “जनताको माया, स्नेह र समर्थनले म कहिल्यै हार मान्दिनँ ।”

उनको भनाइ अनुसार, २०७८ साउन २५ गते दोस्रो कार्यकालको सुरुआत हुँदा गौरवको अनुभूति थियो भने ०८१ चैत १४ गते हटाइँदा मकवानपुरको चेपाङ बस्तीमा सेवा गर्दै थिए । अन्त्यमा उनले राष्ट्रसेवक कर्मचारीलाई निरुत्साहित गर्ने सरकारको निर्णयप्रति गम्भीर असन्तुष्टि पनि जनाए ।

सम्बन्धित समाचार

सबै