मदिरा सेवन गरी अभद्र व्यवहार गरेको आरोपमा बारबर्दियाका प्रशासकीय अधिकृत पक्राउ

146 Shares

काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार बेलुकी नगरपालिकाबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बर्दिया लगिएको हो।

प्रहरीका अनुसार आचार्यमाथि मदिरा सेवन गरी नगर प्रमुख छविलाल थारु र उपप्रमुख रत्नकुमारी पाण्डेसँग अभद्र व्यवहार गरेको आरोप लागेको छ। नगर प्रमुख थारुसहितको टोलीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए।

मंगलबार अत्यधिक मदिरा सेवन गरेका आचार्यले उपप्रमुख पाण्डेको कार्यकक्षमै पुगेर गालीगलौज गर्दै हातपातको प्रयास गरेको आरोप छ। सोही दिन इलाका प्रहरी कार्यालयले उनलाई पक्राउ गरी साँझ ‘जिम्मा जमानत’ मा छाडेको थियो।

नगर प्रमुख थारुले आचार्यमाथि अभद्र व्यवहारको मुद्दा दायर गरिएको बताए। तर, आचार्यले भने पावर टेलर खरिदमा पाँच लाख कमिसन नपाएपछि नगर प्रमुखले प्रहरी बोलाएको दाबी गरेका छन्।

सम्बन्धित समाचार

सबै