
सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजना ८३ दशमलव सात प्रतिशत पूरा भएको छ । भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियामा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित निर्माण भइरहेको यस आयोजना अन्तर्गत १२ दशमलव दुई किलोमिटर सुरुङ निर्माण भइसकेको छ ।
३३ अर्ब १९ करोड ६६ लाख लागत अनुमान गरिएको आयोजनामा हालसम्म १६ अर्ब ९६ करोड खर्च भइसकेको छ । आयोजनाले ४६ मेगावाट विद्युत् उत्पादन गर्ने र करिब ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ ।
हाल आयोजनाका विभिन्न संरचनाको निर्माण कार्य जारी छ । सुरुङ निर्माण सम्पन्न भए पनि बाँध निर्माण, विद्युत् प्रसारण लाइन जडान, तथा अन्य भौतिक संरचना निर्माणमा ढिलाइ भएको छ । स्थानीय अवरोध तथा ऐलानी जग्गा व्यवस्थापन प्रक्रियाका कारण आयोजनाले गति लिन नसकेको अधिकारीहरूले बताएका छन् ।
सरकारले २०६८/६९ मा सुरु गर्ने योजना बनाएको आयोजना २०७१/७२ मा मात्र औपचारिक रूपमा थालनी भएको थियो । पहिलो चरणमा २०७६ चैत १५ सम्म सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो, जसलाई चिनियाँ कम्पनी कोभेकले तोकिएको समयभन्दा एक वर्षअघि नै पूरा गरेको थियो ।
हाल दोस्रो चरणको काम सुस्त गतिमा भइरहेको छ । चालु आर्थिक वर्षका लागि छुट्याइएको १ अर्ब ७७ करोड बजेटमध्ये हालसम्म ४६ करोड मात्र खर्च भएको छ । आयोजनाका प्रमुख रणबहादुर बमका अनुसार हाल आयोजनास्थलमा १५० जना श्रमिक कार्यरत छन् भने भौतिक प्रगति ६६ प्रतिशत पुगेको छ ।