म्याग्दीको मुदीमा तीन जलविद्युत् आयोजनाको निर्माण सुरू

208 Shares

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा तीनवटा जलविद्युत् आयोजना निर्माण सुरू भएको छ। धौलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीको उपयोग गर्दै १५५ मेगावाट क्षमताका तीन जलविद्युत् आयोजनाको काम अगाडि बढाइएको हो।

ऊर्जा डेभलपर्स प्रालिअन्तर्गत म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले पूर्वाधार निर्माण सुरू गरेको छ। त्यस्तै, हाइड्रो भिलेज प्रवर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माणलाई तीव्रता दिएको छ।

यसैगरी, हाइड्रो इम्पायर प्रालि प्रवर्द्धक रहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले सुरूङ निर्माणको तयारी गरेको छ।

धौलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनका अनुसार म्याग्दी नदी र सहायक गुर्जाखोला तथा मुदी खोलामा आठ वटा जलविद्युत् आयोजना दर्ता भएका छन्, जसमध्ये तीन आयोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। उनले जलविद्युत् आयोजनाको निर्माणले दुर्गम बस्तीहरूमा सडक पहुँच विस्तार गर्न मद्दत पुर्याएको बताए।

अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले मुदीको खाम्लामा बाँध र मालिका गाउँपालिका–७ भारवाङमा विद्युत्गृह निर्माण गरिरहेको छ। आयोजनाले पाँच किलोमिटर सात सय मिटर सुरूङमध्ये ५३० मिटर सुरूङ निर्माण सम्पन्न गरिसकेको छ। आयोजनाका प्रमुख ज्योतिकुमार केसीका अनुसार यो आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ।

त्यस्तै, ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले विद्युत्गृहको पहुँचमार्ग निर्माण गरिसकेको छ। नाउराबाट छ किलोमिटर दूरीमा पर्ने जेल्टुङमा विद्युत्गृह बनाउने तथा सुरूङ निर्माणको तयारी भइरहेको छ।

यसैगरी, ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माण सकेर सुरूङ निर्माणको तयारी गरेको छ। आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तिका अनुसार बगर गाउँको पुछारमा बाँध र नाउरामा विद्युत्गृह रहनेछ।

जलविद्युत् आयोजनासँगै खाम्ला, नाउरा, खिबाङ, बगरलगायतका दुर्गम बस्तीहरू सडक सञ्जालमा जोडिएका छन्।

सम्बन्धित समाचार

सबै