नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेको मध्यविन्दु प्रादेशिक अस्पतालले स्वीकृत दरबन्दीभन्दा धेरै शय्या सञ्चालन गरिरहेको छ ।
अस्पतालमा स्वीकृत दरबन्दी पन्ध्र शय्याको मात्र भए पनि बिरामीको चाप धेरै भएकाले आफूहरूले स्वीकृत दरबन्दीभन्दा धेरै ८० शय्या सञ्चालन गर्नुपरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेशप्रसाद आचार्यले बताउनुभयो । स्वीकृत दरबन्दी थोरै शय्याको तर सञ्चालन भने धेरै शय्या भएकाले जनशक्ति अभाव झेल्नुपरेको उहाँको भनाइ छ ।
अहिले अस्पतालको नयाँ भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको १२ करोड र नेपाल हिल्फे संस्थाको १८ करोड गरी ३० करोड रुपैयाँको लगानीमा भवन निर्माण भएको हो ।
साँघुरो भवनका कारण सहज रूपमा सेवा दिन कठिन भइरहेको अवस्थामा नयाँ भवन निर्माणसँगै अब सहज हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. आचार्यले बताउनुभयो । नयाँ भवनबाट केही दिनमा सेवा दिन थालिने छ ।