
काठमाडौं – जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) सँगको एकतालगायतका विषयमा छलफल गर्न राष्ट्रिय परिषद् समितिको बैठक बोलाएको छ।
आउँदो शुक्रबार काठमाडौंमा बस्ने बैठकमा दुई दलको एकता मुख्य एजेन्डा रहने प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिनुभयो। जनमत र नाउपाबीचको एकता सहमति नजिक पुगेको छ। यसैक्रममा हिजो दुवै दलका कार्यदलबीच छलफलसमेत भएको थियो।
कार्यदल बैठकमा एकीकरणको मोडालिटीबारे छलफल भएको प्रवक्ता यादवले बताए। उनका अनुसार एकता भइसकेपछि नयाँ दलको नाम ‘नागरिक जनमत पार्टी’ राख्ने, अध्यक्ष डा. सीके राउत, संरक्षक रेशम चौधरी, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुने र चुनाव चिह्न ‘ढकिया’ कायम रहने सहमति भएको छ।
दुवै पार्टीका केन्द्रीय कमिटी र पदाधिकारीको सम्मानजनक सहभागिता सुनिश्चित गर्न छलफल जारी छ। नेताहरूले एकीकृत पार्टी तराई–मधेशमा बलियो राजनीतिक शक्ति बन्ने दाबी गरेका छन्।
सङ्घीय संसद्मा प्रतिनिधित्वको हिसाबले नयाँ दल मधेश केन्द्रित सबैभन्दा ठूलो दल बन्नेछ। हाल जनमतका ६ जना र नाउपाका ४ जना सांसद छन्। मधेश केन्द्रित जनता समाजवादी पार्टीका ७, जसपा नेपालका ५ र लोकतान्त्रिक समाजवादी पार्टीका ४ जना सांसद छन्।
टीकापुर घटनामा जेलमा रहेका बेला रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठको नेतृत्वमा तीन वर्षअघि नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो। त्यस्तै, मधेशमा पृथकतावादी आन्दोलन चलाएर चर्चामा आएका डा. सीके राउत सरकारसँगको वार्तापछि ६ वर्षअघि खुला राजनीतिमा आएका थिए र त्यसपछि आफ्नो पार्टी स्थापना गरेका थिए।