पर्सा । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर रु १ खर्ब २२ अर्ब २० करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यस अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा रु १ अर्ब ६७ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । गत वर्ष आठ महिनामा रु १ खर्ब २० अर्ब ५३ करोडको पेट्रोलियम पदार्थ आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार चालु आवमा पेट्रोलियम पदार्थको आयात र राजस्व दुवै वृद्धि भएको छ ।
‘हाल पूर्वाधार निर्माणको चरण भएकाले पनि पेट्रोलियम पदार्थको आयात बढेको देखिन्छ,’ उनले बताए ।
चालु आवको आठ महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु ५० अर्ब १३ करोड राजस्व संकलन भएको छ, जबकि गत वर्ष सोही अवधिमा रु ४४ अर्ब ८० करोड मात्र संकलन भएको थियो ।
यस अवधिमा रु ६१ अर्ब ४५ करोड मूल्यको ६ लाख ८५ हजार ९९१ किलोलिटर डिजेल आयात भएको छ, जसबाट रु २७ अर्ब ३१ करोड राजस्व उठेको छ । त्यस्तै, रु २५ अर्ब ३० करोड मूल्यको २ लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल आयात हुँदा रु १६ अर्ब ४८ करोड राजस्व संकलन भएको छ ।
एलपिजी ग्यासतर्फ चालु आवको आठ महिनामा रु २४ अर्ब ५ करोड मूल्य बराबरको २१ करोड ४२ हजार ७८१ किलोग्राम आयात भएको छ, जसबाट रु ४ अर्ब ५० करोड राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा रु १९ अर्ब ५२ करोड मूल्य बराबरको १८ करोड ६८ लाख १२ हजार १२० किलोग्राम एलपिजी ग्यास आयात भएको थियो ।