काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत पद्मकन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघकै स्वतन्त्र उम्मेदवार भूपेश्वरी ऐर निर्वाचित भएकी छन्। उनले ७३० मत ल्याएर नेविसंघकी आधिकारिक उम्मेदवार पूर्णिमा परियारलाई पराजित गरेकी हुन्। परियार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पक्षकी हुन् भने ऐर महामन्त्री गगन थापा पक्षकी हुन्।
नेविसंघबाट दुई उम्मेदवार परेपछि विवाद सिर्जना हुँदा चैत ५ गते हुने तय भएको निर्वाचन चैत ७ गते मात्रै सम्पन्न भएको थियो।
सचिवमा सन्ध्या बस्याल ६९५ मत ल्याएर विजयी भइन् भने कोषाध्यक्षमा संकल्पिका थापा ६६६ मतसहित विजयी भइन्। सदस्य पदमा उर्वशी पाण्डे (६९४), चेतना महर्की (६८६), अस्मिता विक (६८०), स्वस्तिका विष्ट (६८0), आशु चौधरी (६७८), आकृति पाण्डे (६७६), निशा कार्की (६७४) र यानसु कटवाला (६७२) विजयी भएका छन्।
पद्मकन्याको स्ववियु निर्वाचनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरूले गठबन्धन गरेका थिए। सभापतिमा अनेरास्ववियुकी सुनिता घिमिरे उम्मेदवार थिइन् भने सचिवमा अखिल क्रान्तिकारीकी सदीक्षा पोखरेल र कोषाध्यक्षमा सुम्निमा राई थिए।
त्यस्तै, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल समाजवादीले पनि गठबन्धन गरेका थिए। उनीहरूको गठबन्धनबाट सभापतिमा प्रजिता दर्नाल, सचिवमा अरुणा गौतम र कोषाध्यक्षमा आयुषा पण्डित क्षेत्री उम्मेदवार थिए। तर, भूपेश्वरी ऐरको प्यानलले उनीहरू सबैलाई पराजित गर्यो।
२०३६ सालयता पद्मकन्या क्याम्पसमा नेविसंघको दबदबा रहँदै आएको छ। कम्युनिस्ट धारको विद्यार्थी संगठनबाट २०३८ सालमा शशी श्रेष्ठले मात्र जित निकालेकी थिइन्।