नवलपरासीको थारू सङ्ग्रहालयले पर्यटकको आकर्षण बढाउँदै

217 Shares

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१५ स्थित थारू सङ्ग्रहालय पर्यटकीय केन्द्रको रूपमा विकास भइरहेको छ । थारू समुदायका परम्परागत सामग्री र वेशभूषाको अवलोकन गर्न यहाँ आन्तरिक र बाह्य पर्यटक आउने गरेको थारू सङ्ग्रहालय व्यवस्थापन समितिका अध्यक्ष इनरप्रसाद महतोले जानकारी दिएका छन् ।

अमलटारी घरबास नजिकै स्थित सङ्ग्रहालयमा थारू, बोटे, माझी, मुसहर समुदायले परापूर्वकालदेखि प्रयोग गर्दै आएका विभिन्न सामग्री र वेशभूषा राखिएका छन् । केही सामग्री भने लोप भइसकेका छन्, तर ती सामग्री पनि सङ्ग्रहालयमा समेटिएका छन् ।

सङ्ग्रहालयमा थारू समुदायका कलासंस्कृति, वेशभूषा, गरगहना, कृषि उपकरण र चाँदीका गहना, काठका चप्पल, माटाका भाँडा, ढकिया, गुन्द्री लगायतका सामग्री राखिएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसमेत भएकाले यहाँ वन्यजन्तु अवलोकनका लागि आउने पर्यटक पनि सङ्ग्रहालयमा अवलोकन गर्न आउने गरेका छन् ।

२०६६ मा चन्दा संकलन गरेर स्थापना गरिएको सङ्ग्रहालय लामो समयसम्म ओझेलमा परेको थियो, तर अब पर्यटकीय गतिविधिका कारण यसको महत्त्व बढेको छ । हाल यहाँ स्वदेशी पर्यटकका लागि रु २५ र विदेशी पर्यटकका लागि रु १०० शुल्क लिइने व्यवस्था गरिएको छ ।

सङ्ग्रहालयले नवलपुरका पर्यटकीय गतिविधिमा ठूलो योगदान पुर्याएको नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताए।

सम्बन्धित समाचार

सबै