बाढीले भत्काएको बिपी राजमार्ग पुनर्निर्माण तीव्र, ठेक्का आह्वान सुरू

73 Shares

काभ्रेपलाञ्चोक । असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त बनाएको बिपी राजमार्गका विभिन्न खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुर र सिन्धुलीले दुई सडक खण्ड पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिसकेका छन् ।

बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको रोशीदेखि नेपालथोकसम्मको १३ किलोमिटरमध्ये साढे आठ किलोमिटर सडक पुनर्निर्माणका लागि चार प्याकेजमा काम गरिनेछ । सिन्धुलीतर्फ नेपालथोकदेखि वर्षेखोलासम्मको पहिलो प्याकेजका लागि फागुन २८ गते ७२ करोड रुपैयाँको ठेक्का आह्वान गरिएको छ, जसमा सहभागी कम्पनीले एक करोड ८२ लाख ५० हजार सुरक्षा रकम राख्नुपर्नेछ ।

काभ्रेपलाञ्चोकतर्फको क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि मंगलबार पहिलो टेन्डर आह्वान गरिएको छ । आठ किलोमिटर (डालाबेंसीदेखि चारसयाबेंसीसम्म) सडक पुनर्निर्माणका लागि २ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याइएको छ, जसमा आवेदन दिने कम्पनीले ६ करोड ५० लाख रुपैयाँ सुरक्षा रकम राख्नुपर्नेछ ।

अर्थ मन्त्रालयले बिपी राजमार्ग पुनर्निर्माणका लागि ८ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिइसकेको छ । आवश्यक प्रक्रिया पूरा गरी क्रमशः थप ठेक्का आह्वान गरिने डिभिजन सडक कार्यालयले जनाएको छ ।

निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने योजना बनाइएको छ । ठेक्का आह्वान गरिएका खण्डमा ३० दिनभित्र आवेदन दिन सकिनेछ । करिब दुई महिनाभित्र ठेक्का सम्झौता भई काम सुरु हुने सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए । पुनर्निर्मित सडक दुई लेनको आसफाल्ट कङ्क्रिट सडक हुनेछ, जबकि यसअघि ‘इन्टरमिडियट लेन’ सडक थियो ।

स्थायी पुनर्निर्माण अघि आउने वर्षायाममा यातायात सहज बनाउन अस्थायी मर्मत कार्य तीव्र बनाइएको छ । नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि नेपालथोकसम्मको सडकमा लोडर र डोजर प्रयोग गरी सडक सम्याउने, ग्राभेल भराउने तथा आवश्यक स्थानमा जाली भर्ने काम भइरहेको छ ।

बाढीले क्षति पुर्‍याएका सडक चौडा बनाउने, सतह उठाउने तथा रोशी खोलाको किनारमा रहेका सडकको पुनर्निर्माण गरिनेछ । सरकारले अस्थायी मर्मतका लागि २१ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । हाल काठमाडौँबाट रामेछाप, सिन्धुली लगायत पूर्वी क्षेत्र जाने सवारीसाधन खोलाको बगरमा रहेको कच्ची सडक प्रयोग गरिरहेका छन् ।

सम्बन्धित समाचार

सबै