पोखरा बेलुन विष्फोट छानबिन प्रतिवेदन गृह मन्त्रालयलाई बुझाइयो

29 Shares

काठमाडौं । पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विष्फोट घटनाको छानबिन समितिले गृह मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ। समितिले घटनाको विस्तृत अनुसन्धान गर्दै भविष्यमा यस्ता घटना रोक्न अपनाउनुपर्ने उपायसहितको प्रतिवेदन मंगलबार गृहमन्त्री रमेश लेखकलाई बुझाएको हो।

उक्त विष्फोटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए। घटनालगत्तै गृहमन्त्री लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका थिए।

समितिले प्रतिवेदनमा विशिष्ट व्यक्तिहरूको सहभागिता रहने कार्यक्रममा सुरक्षा मापदण्डलाई उच्च प्राथमिकता दिनुपर्ने, मञ्चमा प्रज्वलनशील पदार्थको प्रयोग पूर्ण रूपमा रोक लगाउनुपर्ने, तथा अनुमति बिना आतिसबाजी तथा विष्फोटक पदार्थको प्रयोगलाई बन्देज लगाउनु पर्ने सुझाव दिएको छ।

त्यसैगरी, भविष्यमै यस्ता घटना रोक्न विस्फोटक रसायन तथा प्रज्वलनशील पदार्थको अनाधिकृत आपूर्ति र प्रयोगमा कडाइ गर्नुपर्ने, कार्यक्रम आयोजना गर्नुपूर्व स्थानीय प्रशासनलाई रूपरेखा उपलब्ध गराउनुपर्ने, तथा बेलुन उडाउनुपरेमा अप्रज्वलनशील हिलियम ग्यास प्रयोग गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

गृहमन्त्री लेखकले प्रतिवेदनमा समेटिएका सिफारिस कार्यान्वयन गर्न गृहसचिव गोकर्णमणि दुवाडीलाई निर्देशन दिएका छन्।

सम्बन्धित समाचार

सबै