काठमाडौं । यो साताको कारोबारको तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ। अघिल्लो साता निरन्तर ओरालो लागेको नेप्से अन्तिम दिन केही अंकले बढेपनि यस साता पुनः लगातार घट्दै गएको छ।
आज नेप्से परिसूचक ७.६६ अंकले घटेर २,६९७.०४ बिन्दुमा कायम भएको छ। ३१३ कम्पनीका ८२ लाख ३७ हजार ९०२ कित्ता शेयर ५० हजार ८३४ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु. ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार पुगेको छ।
आजको कारोबारमा अन्य समूहको उपसूचक ०.११ प्रतिशतले बढेपनि बाँकी सबै समूह ओरालो लागेका छन्। बैंकिङ ०.१४, विकास बैंक ०.४२, वित्त ०.१७, होटल तथा पर्यटन ०.३६, जलविद्युत् ०.१७, लगानी ०.४२, जीवन बीमा ०.७०, उत्पादन तथा प्रशोधन ०.२३, लघुवित्त ०.३१, म्युचुअल फन्ड ०.३७, निर्जीवन बीमा ०.५४ र व्यापार समूह ०.६६ प्रतिशतले घटेका छन्।
सबैभन्दा धेरै वृद्धि मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा ९.९६ प्रतिशतले भएको छ भने सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८.२१ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु. ३२ करोड ११ लाख १७ हजार ८९२ बराबरको शेयर किनबेच भएको छ भने कारोबार संख्याका आधारमा सबैभन्दा धेरै घलेम्दी हाईड्रो लिमिटेडको ७ लाख ६८ हजार ५४३ कित्ता शेयर खरिदबिक्री भएको छ।