आईजीपी कुँवरसहित नौ उच्च प्रहरी अधिकारी अवकाश, नयाँ नेतृत्वको प्रतिस्पर्धा तीव्र

70 Shares

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसहित नौ जना उच्च प्रहरी अधिकारी आज (सोमबार) देखि सेवा निवृत्त हुँदै छन्। २०७९ चैत १० मा आईजीपी नियुक्त भएका कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी अवकाशमा जाँदै हुन्।

उनसँगै एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई तथा डीआईजीहरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि अवकाश हुँदै छन्।

आईजीपी प्रतिस्पर्धामा रहेका टेकप्रसाद राईसमेत अवकाशमा जाँदा नेपाल प्रहरीको ३१औं आईजीपी को हुने भन्ने विषयमा चासो बढेको छ। आईजीपी नियुक्त गर्न सोमबार मन्त्रिपरिषद् बैठक बस्नेछ।

आईजीपी बन्नका लागि एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा छन्। वरीयतामा थापा पहिलो, गिरी दोस्रो र तामाङ तेस्रो स्थानमा छन्। थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख हुन् भने गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन्।

कुँवरसहित उच्च प्रहरी अधिकारीहरूको अवकाशपछि प्रहरी नेतृत्वमा नयाँ टोलीको कमाण्ड स्थापित हुनेछ।

सम्बन्धित समाचार

सबै