काठमाडौं – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत पाँचौँ किस्ता दिने भएको छ। यसअनुसार नेपालले ५ अर्ब ८१ करोड रुपैयाँ (४ करोड १८ लाख अमेरिकी डलर) प्राप्त गर्नेछ।
आईएमएफ कार्यकारी बोर्डको बैठकपछि जारी विज्ञप्तिअनुसार नेपालले राजनीतिक अस्थिरता र असोज महिनामा आएको बाढीपहिरोका बाबजुद उल्लेखनीय प्रगति गरेको छ।
पुँजीगत खर्च वृद्धि, भूकम्प तथा बाढीपहिरोपछिको पुनर्निर्माण, सहुलियतपूर्ण मौद्रिक नीति, जलविद्युत् उत्पादनको वृद्धिजस्ता कारणले नेपालको आर्थिक वृद्धिमा टेवा पुग्ने आईएमएफले उल्लेख गरेको छ।
नेपालले सन् २०२२ मा विदेशी मुद्रा सञ्चिति घट्दा भुक्तानी सन्तुलन कमजोर भएपछि ३९ करोड ५९ लाख अमेरिकी डलर बराबरको ईसीएफ सुविधा लिएको थियो। यो सुविधा चार वर्षमा विभिन्न किस्तामा भुक्तानी गर्नेगरी लिइएको हो।
आईएमएफको समीक्षा टोलीका प्रमुख सर्वत जहानको नेतृत्वमा गएको पुस अन्तिम साता नेपाल आएको थियो। आईएमएफले आन्तरिक माग कमजोर भएको र नेपालले विभिन्न आर्थिक चुनौती सामना गरिरहेको बताएको छ।
नेपाल फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) को ग्रे सूचीमा परेपछि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणमा थप सतर्कता अपनाउनुपर्ने आवश्यकता पनि आईएमएफले औंल्याएको छ। यसका लागि नियामकीय सुधारलाई प्राथमिकता दिन सुझाव दिइएको छ।