मुस्ताङ । घरपझोङ गाउँपालिकाका पाँचवटै वडा जोड्ने रिङ् रोड सडक कालोपत्रमा निर्माण व्यवसायीले बदमासी गरेको पाइएको छ। जोमसोम–ठिनी सडक कालोपत्रमा अनियमितता भएको गुनासो बढेपछि घरपझोङ–५ वडा कार्यालयले पूर्वाधार विकास कार्यालयसँग स्पष्टीकरण मागेको छ।
गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजनाअन्तर्गत जोमसोम, ठिनी, ढुम्बाताल, सम्ले, छैरो र चिमाङलगायत गाउँहरू जोड्ने घरपझोङ रिङ् रोड निर्माणका लागि २०७६ कात्तिक २१ गते बन्दना भगवती जेभीसँग रु २१ करोड ४३ लाखमा ठेक्का सम्झौता गरेको थियो।
उक्त योजनाअन्तर्गत १० किमी सडक निर्माण गरिनु पर्नेमा नयाँ ट्र्याक खोल्ने र जोमसोमदेखि ढुम्बासम्म ५.५ किमी दूरीमा कालोपत्र गर्ने योजना थियो। तर, कालोपत्रको गुणस्तरप्रति गम्भीर प्रश्न उठेको छ।