म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–२, रुमका स्थानीयले अब आफ्नै जग्गामा रहेका स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाउने भएका छन्।
गाउँ सभामार्फत ढुङ्गा खानी तथा उत्खननसम्बन्धी ऐन पारित गरेपछि स्लेट खानी दर्ता गरेर सञ्चालन गर्न कानुनी बाटो खुलेको हो। यसअघि, रुम गाउँको डुडे लेक तथा निजी जग्गा, पाखो र खरबारी क्षेत्रमा घर छाउने ढुङ्गा, स्लेट र औषधिजन्य जडीबुटीको खानी भए पनि कानुनी प्रक्रिया नहुँदा उत्खनन गर्न सकिएको थिएन।
मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाका अनुसार अब निजी जग्गामा रहेका स्लेट खानी दर्ता गरी कानुनी रूपमा सञ्चालन गर्न अनुमति दिइनेछ। स्थानीय टेकबहादुर रोकाका अनुसार ढुङ्गा खानी व्यवस्थित रूपमा सञ्चालन गरेमा स्थानीयलाई रोजगारी सिर्जना हुने र गाउँपालिकालाई आम्दानीसमेत हुनेछ।
‘यहाँको स्लेट र ढुङ्गा गुणस्तरीय छन्। यदि प्रविधि र प्रशोधनको उचित व्यवस्था गरियो भने अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्छ,’ रोकाले बताए। रुमका विभिन्न सात स्थानमा स्लेट खानी रहेको स्थानीय जगबहादुर पुनले जानकारी दिए।
केही वर्षअघिसम्म म्याग्दी, पर्वत, बागलुङ, कास्की, स्याङ्जा, अर्घाखाँची लगायतका जिल्लाबाट घर छाउने ढुङ्गाको माग आउने गरेको थियो। हालै पारित ढुङ्गा खानी तथा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन ऐन, २०८१ मा स्लेट खानी सञ्चालनसम्बन्धी व्यवस्था समावेश गरिएको छ। स्थानीयवासीले ढुङ्गा खानीलाई वैधानिकता दिन लामो समयदेखि माग गर्दै आएका थिए।