प्रधानमन्त्री कप क्रिकेट: एपिएफको लगातार दोस्रो जित, मधेश पराजित

53 Shares

दाङ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले मधेश प्रदेशलाई दुई विकेटले पराजित गरेको छ। यो एपीएफको लगातार दोस्रो जित हो भने मधेश प्रदेशको पहिलो हार हो।

कमलसिंह ऐरीको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा एपीएफले मधेश प्रदेशले दिएको १६९ रनको लक्ष्य ३६.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो। ऐरीले ३ छक्का प्रहार गर्दै अविजित २८ रन बनाए। सुमित महर्जन ३५ रनमा आउट भएपछि केही दबाबमा परेको एपीएफलाई ऐरीले उत्कृष्ट खेल्दै जित दिलाए।

बलिङमा मधेश प्रदेशका खेलाडीको प्रदर्शन

मधेश प्रदेशका कमल गुप्ताले १० ओभरमा १ मेडन राख्दै ४० रन खर्चेर ४ विकेट लिए। प्रदीप पासवानले २८ रन दिएर २ विकेट लिए भने रुपेश सिंह र हरिशंकर शाहले समान १-१ विकेट हात पारे।

पहिले ब्याटिङ गरेको मधेश प्रदेश १६८ रनमा समेटियो

टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ४०.४ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो। कप्तान अनिलकुमार साह र मयन यादवले ३१-३१ रन बनाए। तर, यादव भुवन कार्कीको बलमा बोल्ड आउट भएपछि मधेश प्रदेशको विकेट पतन सुरु भयो।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेशका टोली सहभागी छन्। दाङसहित रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा जारी प्रतियोगिता राउण्ड रोबिन प्रारुपमा खेलाइँदैछ। चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तर्गत दाङमा १४ वटा खेल हुने तालिका छ।

सम्बन्धित समाचार

सबै