काठमाडौं विमानस्थलमा एयर अरेबियाको जहाज मिस एप्रोच, अन्तर्राष्ट्रिय उडान प्रभावित

187 Shares

काठमाडौं । एयर अरेबियाको जहाज आज दिउँसो १:०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा ‘मिस एप्रोच ओभरसुट’ भएको छ। अवतरणको तयारीमा रहेका बेला नरेफाँटमाथिबाट एक्कासी ओभरसुट गर्नुपरेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए। हावाको गति नमिल्दा ‘विन्ड सियर’को प्रभाव परेपछि जहाजले मिस एप्रोच गरेको उनले बताए।

यसैगरी, नयाँ दिल्लीबाट आएको एयर इन्डियाको जहाज सिमरामाथि चार फन्को मारेपछि काठमाडौंमा अवतरण गर्‍यो। बैङ्ककबाट आएको थाइ एयरलाइन्सको जहाज पनि केही समय होल्डमा परेको थियो।

यसअघि, जापानको नारिताबाट आएको नेपाल एयरलाइन्सको जहाजसहित कतार एयरवेज, एयर इन्डिया, बाटिक एयर, फ्लाई दुबईका अन्तर्राष्ट्रिय उडानहरू होल्ड भएका थिए। भैरहवा, धनगढी र पोखराबाट आएका आन्तरिक उडानहरू पनि कम भिजिबिलिटीका कारण प्रभावित भएका छन्।

पछिल्लो एक सातादेखि प्रतिकूल मौसमका कारण हवाई उडानहरू प्रभावित भइरहेको विमानस्थल प्रशासनले जनाएको छ। नेपालमा प्रि-मनसुनी गतिविधि सक्रिय रहँदा न्यून भिजिबिलिटी र हावाको गति नमिल्दा अन्तर्राष्ट्रिय उडानहरूमा समस्या देखिएको प्रवक्ता शेर्पाले जानकारी दिए।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा अपराह्नतिर मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित समाचार

सबै