काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना, पानी परे पनि वायु प्रदूषण घटेन

164 Shares

काठमाण्डौ – पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेकोले अहिले देशभरको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा साधारणतया बदली हुने तथा बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही ठाउँमा तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई ठाउँमा मेघगर्जन र चटयाङसहित हल्का वर्षा हुने सम्भावना छ ।

हिजो पनि काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा पानी परेको थियो । आज पनि बेलुकातिर काठमाण्डौ उपत्यका लगायत आसपासका क्षेत्रमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो ।

यसैबीच, काठमाण्डौलगायत नेपालका विभिन्न क्षेत्रमा पछिल्ला केही दिनदेखि बढेको वायु प्रदूषण पानी पर्दा समेत घटेको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि काठमाण्डौमा मौसम धुम्मिएको छ ।

हिजो पानी परे पनि आकाश खुल्न सकेको छैन । वायु गुणस्तर निगरानी गर्ने आईक्यू एअर इन्डेक्समा आज पनि काठमाण्डौ विश्वकै प्रदूषित शहरमध्ये तेस्रोमा परेको छ ।

काठमाण्डौमा बिहान  नाै बजे एक्यूआई सूचकांक एक सय ८२ रहेको छ । पहिलोमा भारतकाे नयाँ दिल्ली रहेको छ । नयाँ दिल्लीको सूचकांक दुई सय चार  छ । त्यस्तै दोस्रोमा पाकिस्तानको लाहोर रहेको छ ।

वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै चिकित्सकहरूले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका छन् ।

वातावरण विभागका अधिकारीहरूका अनुसार ठूलो वर्षा नभइ वा ठूलो हुरी नचलेसम्म वायु प्रदुषण कम हुने देखिएको छैन ।

 

सम्बन्धित समाचार

सबै