काठमाडौं – नेपाल भौगर्भिक समाजद्वारा आयोजित ११औँ नेपाल भौगर्भिक सम्मेलनमा ७५ वटा कार्यपत्र प्रस्तुत गरिँदै छलफल भएको छ। दुई दिने सम्मेलनमा ६० नेपाली र १५ विदेशी भूगर्भविद्को कार्यपत्र समेटिएको थियो।
समाजका अध्यक्ष चुर्णबहादुर ओलीका अनुसार सम्मेलनले जलवायु परिवर्तन अनुकूलन, प्राकृतिक स्रोत उपयोग तथा भू-जोखिम व्यवस्थापनमा भूगर्भ विज्ञानको भूमिकालाई उजागर गरेको छ। प्रस्तुत कार्यपत्रलाई समेटेर यसै वर्ष जर्नल प्रकाशन गरिनेछ।
नेपाल, भारत, चीन, भुटान, अमेरिका, क्यानडा, जर्मनी, नेदरल्यान्ड्स, स्वीट्जरल्यान्ड, इटाली, पोल्यान्ड, दक्षिण कोरिया, जापान, बङ्गलादेश र पाकिस्तानका भूगर्भविद्को सहभागिता रहेको सम्मेलनमा तीन सय विज्ञ उपस्थित थिए।
टोनी हेगन मेमोरियल फाउन्डेसनको सहयोगमा पहिलो पटक ‘टोनी हेगन मेमोरियल अवार्ड’ वितरण गरिएको सम्मेलनमा डा.विशालनाथ उप्रेती सम्मानित भएका छन्। साथै, डा. टोनी हेगनको अनुसन्धान आधारित पुस्तक ‘जियोलोजिकल सर्वे अफ नेपाल भोलुम ३’ सार्वजनिक गरिएको छ।