काठमाण्डौ – आकर्षक तलबको प्रलोभनमा पारी, अमेरिका र क्यानडामा वैदेशिक रोजगारी पठाइदिने झूटा दावी गर्दै ठगी गर्ने दुई व्यक्तिको पक्राउ भएको छ।
नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, सङ्खुवासभाको मकालु गाउँपालिका–२ घरका २१ वर्षीय सालिकराम बानिया र मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ घरकी काठमाण्डौकीर्तिपुर नगरपालिका–१४ बस्ने ३१ वर्षीय एलिना पुरीलाई सम्बन्धित घटनामा संलग्न ठगीकर्ता देखिएको हो। सालिकरामले अमेरिका पठाइदिने दाबी गर्दै एक व्यक्तिबाट पाँच लाख रुपैयाँ र एलिनाले क्यानडामा पठाइदिने भनाइमा अर्को व्यक्तिबाट एक लाख पचास हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको जनाएको छ।
उनीहरूलाई काठमाण्डौको टेकु क्षेत्रमा पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले घटना पुष्टि गरेका छन्।