होस्टेल–३: नयाँ अनुहार, पुरानै स्वाद

247 Shares

काठमाडौं । नेपाली फिल्म ‘होस्टेल–३’ शुक्रबारदेखि देशभर प्रदर्शन भइरहेको छ। तीन दिनसम्म फिल्मले राम्रो व्यापार गरेको छ।

‘होस्टेल’ फिल्म शृंखलाले नेपाली फिल्म क्षेत्रमा नयाँ कलाकारहरू भित्र्याउने परम्परा कायम राख्दै आएको छ। पहिलो संस्करणबाट अनमोल केसी, सलोन बस्नेत, गौरव पहारी, प्रकृति श्रेष्ठजस्ता कलाकार उदाए। दोस्रो भाग ‘होस्टेल रिटर्न्स’ मा स्वस्तिमा खड्का, नाजिर हुसेन, सुशील श्रेष्ठ जस्ता कलाकारले पहिचान बनाए।

यसपालि ‘होस्टेल–३’ मा पनि नयाँ अनुहारकै बाहुल्यता छ। पारस बम ठकुरी, सिम्रन पन्त, पदम तामाङ, आशिष घिमिरे, रिहान गिरी, हेना नगरकोटीजस्ता नयाँ कलाकार शीर्ष भूमिकामा छन्। निर्देशक सशान कँडेलका लागि पनि यो पहिलो निर्देशन हो।

फिल्म आइटी कलेजका विद्यार्थीहरूको होस्टेल जीवनमा आधारित छ। अघिल्ला शृंखलाहरूझैं यसपटक पनि मित्रता, झगडा, प्रेम, बिछोड र उतारचढावकै कथा समेटिएको छ। कथामा केही नयाँपन र सस्पेन्स देखिए पनि फिल्म अलि तन्काइएको महसुस हुन्छ।

कलाकारहरूको अभिनय सन्तोषजनक छ। खलपात्रका रूपमा सन्तोष बानियाँ र उमर खानको प्रस्तुति प्रभावशाली देखिन्छ। समलिंगी पात्रको कथावाचनमा भने निर्देशक चुकेको महसुस हुन्छ।

फिल्मको लोकेसन, छायांकन, फ्रेमिङ, लाइट, ब्याकग्राउन्ड स्कोर राम्रो छ। संगीत औसत लागे पनि कथालाई अघि बढाउने प्रभाव भने देखिँदैन।

‘होस्टेल–३’ ले नयाँ कलाकार र निर्देशकलाई अवसर दिएको छ। नवयुवा दर्शकलाई आकर्षित गर्ने फिल्म भए पनि मौलिकताको कमी खट्किन्छ। अब फिल्मको व्यापार आगामी दिनमा कस्तो रहन्छ, त्यो हेर्न बाँकी छ।

सम्बन्धित समाचार

सबै